सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी

सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ ।

डब्लुएचओले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सन् २०१६ को तथ्याङ्कलाई विश्लेषण गर्दा सडक दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ । सन् २०१३ को तथ्याङ्कभन्दा यो सङ्ख्या एक लाखले बढी हो ।

डब्लुएचओका महानिर्देशक डा ट्रेडोस अधानोम गेब्रेएससले उक्त प्रतिवेदन सार्वजनिक गर्दै सडक दुर्घटना कम हुने उपाय अवलम्बन गर्न सबै साझेदार र सरकारलाई आह्वान गरेका छन् । यस वर्षको प्रतिवेदनमा सन् २०१६ भरिमा भएका सडक दुर्घटनाका मृतकको सङ्ख्याका आधारमा अनुमान तयार पारिएको छ । नेपालमा सडक दुर्घटनामा मर्नेको सङ्ख्या चार हजार ६२२ रहेको अनुमान गरिएको छ । नेपालका लागि सडक दुर्घटनाबाट हुने मृत्युको दर १५.९ प्रतिएक लाख जनसङ्ख्या अनुमान गरिएको छ ।

बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तानमा यो दर नेपालभन्दा कम (१४ र १५ को बीचमा) रहेको छ । प्रतिवेदनअनुसार पश्चिम अफ्रिकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च (३५.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ भने दक्षिण एशियाली मुलुक माल्दिभ्समा यो दर सबैभन्दा कम (०.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ ।