क्यूकेएस स्पोर्टस् मिटमा जेम्स च्याम्पियन

क्यूकेएस स्पोर्टस् मिटमा जेम्स च्याम्पियन


प्रथम क्यूकेएस स्पोर्टस् मिटमा जेम्स स्कुल टिम च्याम्पियन बनेको छ । १ सय ६ अंकका साथ समग्रमा जेम्स टिम च्याम्पियन बनेको हो । क्वालिटी काठमाडौं स्कुल (क्यूकेएस) द्वारा आयोजित प्रतियोगितामा १ सय अंकमा रातो बंगला दोस्रो तथा ६७ अंकमा एलआरआई तेस्रो भए । ६० अंकका साथ त्रियोग चौथो तथा ५९ अंकका साथ संस्कृति पाँचौँ स्थानमा रहे ।

कात्तिक ३० गतेदेखि सुरु स्पोर्टस् मिटमा क्यूकेएसमा आबद्ध विभिन्न २६ विद्यालयमध्ये १६ विद्यालयले भाग लिएका थिए । विभिन्न ५ खेल बास्केटबल, फुटसल, टेबलटेनिस, बुद्धिचाल र एथलेटिक्सको प्रतिस्पर्धा भएको थियो ।

बास्केटबलको छात्र–छात्रा दुवैमा एलआरआईले उपाधि जित्यो । फुटसलको छात्रमा एलआरआई तथा छात्रामा संस्कृति पहिलो भए । टेबलटेनिस र बुद्धिचालमा त्रियोग पहिलो भयो भने एथलेटिक्समा रातो बंगला च्याम्पियन बन्यो ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको स्पोर्टस् मिटको समापनका अवसरमा क्यूकेएसका अध्यक्ष कुमार थापा, संस्कृतिका प्रिन्सिपल दिलीप राणा, जेम्सका अध्यक्ष राजेश खड्कालगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे । खेलहरू क्यूकेएसमा आबद्ध विभिन्न विद्यालयका हातामा भएको थियो ।