सेयर लगानीकर्ताको अनशन जारी

सेयर लगानीकर्ताको अनशन जारी


धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि भई २४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । कुल १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता सेयर रु. ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरिद–बिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोबार भएका कुल दश उपसमूहमध्ये दुई उपसमूहका सेयर भने घटेका छन् । यस्तै आठ उपसमूहको सेयर भने बढेको छ । उत्पादन दुई दशमलव ५१ र अन्य दुई दशमलव ७९ बिन्दुले घटेको छ । बैंकिङ १३ दशमलव ४३, होटेल २३ दशमलव ८७, विकास बैंक १८ दशमलव ८, जलविद्युत् पाँच दशमलव एक, वित्त चार दशमलव चार, निर्जीवन बिमा ७२ दशमलव शून्य पाँच, लघुवित्त १८ दशमलव शून्य आठ र जीवन बिमा ९८ दशमलव ६९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार रैराङ हाइड्रो पावर कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी इक्विटी फन्ड, हिमालयन डिस्टिलरी, नागबेली लघुवित्त विकास बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका सेयरधनीले गुमाएका छन् ।

यसैबीच सेयर बजारमा सुधारको माग राख्दै रिले अनशनमा बसेका लगानीकर्ताको अनशन आज पनि जारी रह्यो । स्टकको कार्यालयअगाडि बजार सुधारका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने भन्दै उनीहरूले आइतबारदेखि रिले अनशन शुरु गरेका हुन् ।