प्रधानमन्त्री निवास अगाडिबाट अधिकारकर्मी गिरफ्तार

प्रधानमन्त्री निवास अगाडिबाट अधिकारकर्मी गिरफ्तार


७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज (नेपाल)ले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जि।सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायण कुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेको समाजले जनाएको छ ।

२०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमताको द्याोतक भन्दै राज्यको अक्षमता र दण्डहीनताको कहालीलाग्दो सिलसिला विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको थियो ।

विरोध प्रदर्शनमा पीडितलाई न्याय पीडकलाई सजाय, महिलामाथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो, मानव अधिकार संरक्षण गर, महिलामाथि भइरहेको अत्याचार अन्त्य गर, दण्डहीनता अन्त्य गर, END IMPUNITY, BRING THE PERPETRATORS TO JUSTICE लगायतका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।