९५ वर्षीया हजुरआमालाई यसरी झुक्याए नाति-नातिनाले

९५ वर्षीया हजुरआमालाई यसरी झुक्याए नाति-नातिनाले


– पुनहरि बेल्बासे, भैरहवा

शेषपछिको बकस भनेर आफूलाई झुक्याएर आफ्ना नातिनातिनीले आफ्नो जग्गा आफू जीवित छँदै हालैको बकस पास गराएको आरोप एक वृद्धाले लगाएकी छिन् । तिलोत्तमा नगरपालिका– १, साबिक शङ्करनगर गाविस–२ बस्ने ९५ वर्षीया ललितादेवी खनालले उक्त आरोप लगाएकी हुन् । ‘आफ्ना नातिनातिना त हुन् नि पराई होइनन् भनेर मलाई पाल्नु भनेर मेरो मृत्युपछि मेरो जग्गा मेरो जेठो छोरातिरको नाति यमलाल खनाल र नातिनी पवित्रा खनाल साथै कान्छो छोरातिरको नाति तुलबहादुर खनालको नाममा मैले उक्त जग्गा शेषपछिको बकस दिएकी थिएँ, तर मलाई उनीहरूले झुक्याएर म जीवित छँदै हालैको बकस गराएछन्,’ उनको भनाइ छ ।

‘०६३ सालमा मलाई मालपोतमा लगेर जग्गा पास गराए, तर अहिले मलाई तीर्थब्रत गर्न र औषधिमूलो गर्न पैसा माग्दा उनीहरूले कहाँ पैसा छ र भने । मैले मेरो थोरै जग्गा बेचेर भए पनि पैसा देओ न भन्दा तेरो नाममा के छ र ? अनि कहाँबाट तँलाई पैसा दिने भनेपछि मात्र मैले म जीवित छदै मलाई झुक्याएर हालैको बकस गराएको कुरा थाहा पाएँ,’ उनले रुँदै भनिन् । ‘मलाई केही समय नातिनी पवित्रा खनालले पालेकी हुन्, तर मैले केही रकम चाहियो भनेर सबैसँग भनेकी थिएँ तर कसैले दिएनन्,’ उनको गुनासो छ ।

मिति ०६३ साल भदौ ११ गते मालपोत कार्यालय रुपन्देहीबाट उक्त जग्गा पीडित ललितादेवि खनालका नाति यमलाल खनाल, तुलबहादुर खनाल र नातिनी पवित्रा खनालको नाममा रजिस्ट्रेसन पास गरेका छन् । जसमा पीडित ललितादेवि खनालको नाममा रहेको शङ्करनगर २ घ को कित्ता नं. १२३३ मध्येबाट यमलाल खनालको नाममा ७ कट्ठा १० धुर, तुलबहादुर खनालको नाममा १४ कट्ठा १४ धुर र नातिनी पवित्रा खनालको नाममा ८ कट्ठा १ धुर जग्गा हालैको बकस पास भएको छ ।

उता नातिनी पवित्रा खनालले भने मैले हजुरआमालाई झुक्याएर त्यो जग्गा पास गरेकी होइन । उहाँको राजीखुसीले मलाई हालसालैको बकस दिनुभएको हो भन्छिन् । ‘दाजुभाइले हजुरआमालाई नहेरेपछि मैले उहाँलाई काठमाडौं ल्याएर राखेकी थिएँ । मैले हजुरआमालाई राम्रोसँग लालनपालन गरेकै हो । उहाँको उपचार, खानपिनलगायतका सबै खर्च मैले नै व्यहोर्दै आएकी छु । मैले गत भदौ महिनामा मात्रै १ लाख ७ हजार रुपैयाँ हजुरआमालाई खर्चको लागि उहाँको बैंक खातामा जम्मा गरिदिएकी छु, औषधिमूलो कति गरेँ त्यसको रेकर्ड पनि मसँग सुरक्षित छ, यो सब हजुरआमा अरूको बहकाउमा आएर भन्नुभएको हो,’ उनको भनाइ छ । ‘त्यो जग्गामध्ये ८ कट्ठा जग्गा बिक्री गरेर हजुरआमाले सारदा स्कुललाई रु. ५ लाख दान पनि गर्नुभएको छ,’ उनी भन्छिन् ।

त्यस्तै नाति यमलाल खनालको भनाइ पनि त्यस्तै छ । ‘यो सब अङ्कलहरूको बहकाउमा आएर हजुरआमाले आरोप लगाउनुभएको हो । हजुरआमालाई हामीले घरबाट निकालेका होइनौँ, उहाँ आफैँ झगडा गरेर जानुभएको हो,’ उनको भनाइ छ । ‘म त्यसबेला १९ वर्षको मात्रै थिएँ । हालैको बकस हो कि शेषपछिको हो मलाई त्यसबेला थाहा हुने कुरै भएन भने मैले कसरी झुक्काएँ ?’ उनको प्रति प्रश्न छ ।

त्यस्तै अर्का नाति तुलबहादुर खनालको भनाइ पनि त्यस्तै छ । उनी भन्छन्, ‘हजुरआमाले हामीलाई आफ्नो राजीखुसीले हालसालैको बकस दिनुभएको हो । मलाई दिएको जग्गामध्ये ४–५ वर्षपछि हजुरआमाको सल्लाहअनुसार ५ कट्ठा जग्गा बहिनी पवित्राको नाममा पास गरिदिएको पनि छु ।’

यता वृद्ध ललितादेवी खनालका माइला छोरा विष्णु खनाल भन्छन्, ‘त्यसबेला दाइका छोराछोरी र मेरो छोराले आमालाई के भनेर जग्गा पास गराए, त्यो हामी कसैलाई थाहै भएन । मैले त सोचेँ कि आमाको नामको जग्गा सुरक्षित छ, आमाको शेषपछि सबै बसेर जे गरौँला–गरौँला भन्नेमा थिएँ । अहिले आमा दुःख पाएर रुँदै आएपछि मात्रै यी कुराहरू हामीलाई थाहा भयो ।’

पीडित ललितादेवीकी छोरी टुल्की ढकालको भनाइ पनि उस्तै छ । ‘आमाको नामको जग्गा उनीहरूले झुक्याएर पास गराएका रहेछन्, हामी कसैलाई थाहै भएन । म त विवाह गरेर गएकी चेली, जग्गाबारे बुझ्न खोज्दा पवित्रालगायत तीनजनाले नै त्यो जग्गाबारे तपाईंलाई केको चासो भयो र भनेपछि मैले सोचेकी थिएँ कि जग्गा शेषपछिको बकस होला । तर कुरो अर्कै रहेछ,’ उनी भन्छिन् । नातिनी पवित्रा खनाल त भदौमा १ लाख ७ हजार रुपैयाँ आमाको बैंकखातामा जम्मा गरिदिनुभएको रहेछ नि भन्ने प्रश्नमा भन्छिन्, ‘आमाको वृद्ध भत्तालगायत केही पैसा नातिनीमार्फत व्याजमा लगाउनुभएको छ, त्यही पैसाको व्याज उनले आमाको खातामा जम्मा गरिदिएको हो । उनीहरूले राम्रो गरेको भए आमा अहिले आएर दुःख पाउँदै कहिले मेरो घरमा, कहिले भदाहाको घरमा बस्नुपथ्र्यो र ?’

मालपोत कार्यालय रूपन्देहीबाट रजिस्टे«सन पास गरेको उक्त जग्गामा पवित्रा खनाल र यमलाल खनालको नाममा हालैको बकस पास भएको जग्गामा तुलबहादुर खनाल साक्षी छन् भने तुलबहादुर खनालको नाममा हालैको बकस पास भएको जग्गामा पवित्रा खनाल साक्षी बसेकी छन् ।

‘मेरा नातिनातिनाले मलाई त्यसरी झुक्याएर शेषपछिको भनेर हालैको बकस पास गरेका छन्, त्यो जग्गा मैले पाउनुप¥यो मैले बुढेसकालमा दुःख पाएँ,’ वृद्धा ललितादेवी भन्छिन् ।