बौद्ध क्षेत्रका १८ यौन व्यवसायीविरुद्ध मुद्दा

बौद्ध क्षेत्रका १८ यौन व्यवसायीविरुद्ध मुद्दा


काठमाडौंको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरीले यौनधन्दामा संलग्न रहेको आशंकामा तीन होटेल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

होटेलमा यौन व्यवसाय चलाएको आशंकामा नारायणटारमा होटेल सञ्चालन ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले र जम्मुडाँडाबाट २७ वर्षीया अस्मिता थापामगरसहित १४ महिला र चार पुरुषविरुद्ध मुद्दा चलाइएको हो ।

मंसिर २२ गते पक्राउ परेका २७ जनाबारे अनुसन्धान गरेपछि १८ जनाविरुद्ध मुद्दा चलाइएको हो । बौद्ध क्षेत्रको नयाँ बस्ती, जम्बुडाँडा र नारायणटारमा सञ्चालित होटेल रेस्टुरेन्टको गतिविधिको अनुसन्धानका साथै छापा मारेर नियन्त्रणमा लिइएपछि आइतबार मुद्दा दर्ता गरेको चन्दले बताए । प्रहरीको छापापछि बौद्ध, जोरपाटी, नारायणटार, नयाँबस्ती र जम्बुडाँडाका होटेल तथा रेस्टुरेन्टमा अवैध यौनजन्य गतिविधि हुने गरेको फेला परेको बताइएको छ ।