सुनसरीमा प्रहरी–डाँकाबीच गोली हानाहानमा एक डाँकाको मृत्यु

सुनसरीमा प्रहरी–डाँकाबीच गोली हानाहानमा एक डाँकाको मृत्यु


सुनसरीको कोसी गाउँपालिका–७ स्थित मुसहरि टोलनजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गएराति मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँचजनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन । चार–पाँचजनाको समूहमा रहेको शंकास्पद व्यक्तिलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरूले प्रहरीलाई लक्षित गरी एक्कासि गोली फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा सो समूहका एक व्यक्तिको मृत्यु भएको हो । नाम, थर र ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीय एक पुरुष व्यक्तिको गोली लागेर घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक फुँयालले बताए ।

अन्य व्यक्ति भारततर्फ फरार भएको प्रहरीले जनाएको छ । घटनास्थलमा तत्काल खोजतलास गर्दा गोली लोड भएको कटुवा पेस्तोल दुई थान तथा मृतकको पाइन्टको खल्तीबाट पाँचवटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको छ भने मृतकको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।