जनकपुर क्षेत्रीय कार्यालयका १६ वितरण केन्द्रसँग कार्यसम्पादन सम्झौता

जनकपुर क्षेत्रीय कार्यालयका १६ वितरण केन्द्रसँग कार्यसम्पादन सम्झौता


नेपाल विद्युत प्राधिकरणले जनकपुर क्षेत्रीय कार्यालयका १६ वितरण केन्द्रसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसमेतको उपस्थितीमा प्राधिकरणले वितरण केन्द्र प्रमुखसँग सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय कार्यालय प्रमुख ओमप्रकाश महतोसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरे । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले सबै केन्द्र प्रमुखसँग सम्झौता गरेका छन् । सम्झौता अनुसार क्षेत्रीय कार्यलय अन्तर्गतका वितरण केन्द्रलाई विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्नेछ ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ । हरेक क्षेत्रीय कार्यालय र त्यस मातहतका बितरण केन्द्रलाई चुहावट नियन्त्रण, औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य (टार्गेट) निर्धारण गरिएको छ । हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको लक्ष्यको न्युनतम ५० प्रतिशत प्रगति हासिल गरेमा केन्द्र प्रमुखलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्य सम्पादन भएको चाररचार महिनामा मूल्याङकन गरिने प्राधिकरणले जनाएको छ ।

गत असारसम्म प्राधिकरणको प्रणालीमा औसत २०.४५ प्रतिशत विद्युत चुहावट छ । प्राधिकरणले धेरै विद्युत चुहावट भएकालाई धेरै र कम चुहावट भएकालाई कम लक्ष्य दिएर कार्यसम्पादन गर्न भनेको छ । जनकपुर क्षेत्रीय कार्यलयअन्तर्गत ३१.३० प्रतिशत विद्युत चुहावट हुँदै आएको छ । चालु वर्षको ५ महिनासम्मको चुहावट २८.७५ प्रतिशत देखिएको छ । यसलाई चालु वर्षमा घटाएर २२.१९ प्रतिशतमा झार्ने लक्ष्य छ । सम्झौतापछि कार्यकारी निर्देशक घिसिङले पारदर्शी, नैतिकवान, व्यवसायिक र चेन अफ कमाण्डका आधारमा कार्यसम्पादन गर्न निर्देशन दिए ।