विद्युत महसुल संकलन केन्द्रमा अनलाइन पेमेन्ट प्रणाली

विद्युत महसुल संकलन केन्द्रमा अनलाइन पेमेन्ट प्रणाली


पछिल्लो समय विद्युत महसुल संकलनमा अनलाइन पेमेन्ट प्रणालीले प्रख्याती कमाएको छ । सबैको रुचि बढेपछि नेपाल विद्युत प्राधिकरणले देशभरका १ सय ४५ महसुल संकलन केन्द्रमा ‘अनलाइन पेमेन्ट’ प्रणाली लागु गरेको हो ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले १५ महिनाअघि सुरु गरेको अनलाइन पेमेन्ट प्रणाली देशभर विस्तार गरिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनका अनुसार प्राधिकरणका ३५ लाखमध्ये ३ लाख ५ हजार बढी ग्राहकले नियमित रुपमा विद्युत महसुल अनलाइन प्रणालीबाट तिर्दै आएका छन् । अहिले मासिक ४३ करोड महसुल अनलाइन प्रणालीबाट ग्राहकले तिर्दै आएको प्राधिकरणले जनाएको छ । ‘अनलाइन सेवा प्रदायकमध्ये सबैभन्दा बढी महसुल ई–सेवाबाट संकलन भइरहेको छ । गत कात्तिक महिनाको तथ्याङ्क अनुसार ई–सेवाबाट १ लाख ५६ हजार ३१ ग्राहकले तिरेको १९ करोड ४५ लाख १८ हजार २ सय ७ रुपैयाँ प्राधिकरणको खातामा जम्मा भएको छ ।’ उनले भने, ‘ग्राहकको आकर्षण बढ्दै गएको अनलाइन प्रणाली एक वर्षमा देशभर विस्तार गरिए पनि २७ स्थानमा अझै यो सेवा पुगेको छैन ।’

चालु आर्थिक वर्षभित्र बाँकी रहेका स्थानमा पनि अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउने प्राधिकरणको तयारी छ । प्राधिकरणले २०७४ भदौ ५ गतेबाट अनलाइन पेमेन्ट प्रणाली लागु गरेको थियो । एक वर्षमा अनलाइनबाट महसुल तिर्ने ग्राहकको संख्या हरेक महिना बढ्दै गएको प्राधिकरणले जनाएको छ । ग्राहकले आफूलाई पायक पर्ने पेमेन्ट काउन्टर वा बैंक खाताबाट महसुल तिर्न थालेपछि यो प्रणाली प्रभावकारी हुँदै गएको छ । अनलाइन पेमेन्ट प्रणालीप्रति ग्राहकको आकर्षण बढेकाले प्राधिकरणका महसुल संकलन काउन्टरमा लाग्ने भिड पनि घटेको छ । अनलाइन महसुल भुक्तानी गर्न प्राधिकरणले ८ वटा सेवा प्रदायकसँग सम्झौता गरेको छ ।

प्राधिकरणका अनुसार इ–सेवा, सिएफएस एक्सप्रेस, पे पोइन्ट नेपाल, सिटी एक्सप्रेस मनी ट्रान्सफर्मरसँग भुक्तानी सुविधा सेवाका लागि सम्झौता गरिएको छ । यस्तै, प्रभू, नेपाल इन्भेष्टमेन्ट, हिमालयन र महालक्ष्मी विकास बैंकसँग पनि सम्झौता भएको छ । ग्राहकले आफ्नो खाता रहेका एनआइसी एसिया, एनएमबी, सिद्धार्थ, माछापुच्छ्रे, वाणिज्य, ग्लोबल आइएमई बैंकबाट पनि महसुल तिर्न सकिनेछ ।