भैरहवा मेला : तीन दिनमा ४ करोडको कारोबार

भैरहवा मेला : तीन दिनमा ४ करोडको कारोबार


– पुनहरि बेल्बासे, भैरहवा

‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नारासहित सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको यो सातौं महोत्सव हो । महोत्सवमा तेस्रो दिन (शनिबार)सम्म करिव ४ करोडको कारोबार भएको मेला संयोजक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले जानकारी दिए ।

मंसिर २० गते देखि पुस १ गते सम्म चल्ने मेलामा शनिबार मात्रै २० हजार दर्शकले मेला अवलोकन गरेको बताउँदै प्रचारप्रसार संयोजक गोविन्द ज्ञवालीले पहिलो र दोस्रो दिनचाहिँ ६ हजार जनाले अवलोकन गरेको जानकारी दिए ।

भैरहवा मेला कुनै पनि सामान गुणस्तरहीन र अखाद्य पदार्थ मिसाइएका खानाको बिक्री वितरण नहोस् भन्नालागि दैनिक होटल तथा उपभोग्य सामग्रीको निरीक्षण भइरहेको संघका महासचिव नेत्रप्रसाद आचार्य बताउँछन् ।

भैरहवा मेलामा कृषि उत्पादनका सामग्री, जडिबुटी, आर्गनिक खाद्यान्न, लत्ताकपडा तथा शैक्षिक परामर्शका स्टलहरुले मेलालाई रोचकता दिएको छ । मेला अवलोकन गर्न आउनेहरुले निःशुल्क रुपमा नेपाल शैक्षिक तालिम केन्द्रबाट शिक्षासम्बन्धी परामर्श र त्र्याम्बकम जटिबुटि सहकारीबाट घरेलु औषधीको बारेमा परामर्श लिन सक्ने मेला स्टल संयोजक ठाकुर कुमार श्रेष्ठले बताए । मेलामा घुम्न र मनोरञ्जन लिनुका साथै सस्तो बजार पनि रहेको र एक किलो चियापत्ति किन्दा एक किलो चिनी फ्रि राखिएको स्टल निर्माण संयोजक मंगल भण्डारीले जानकारी दिए ।

मेला अवलोकन गर्न आउने दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले दैनिक फरक फरक स्थानीय तथा राष्ट्रिय स्तरका लोकदोहोरी, आधुनिक र हास्यव्यङ्ग्य कलाकारहरुबाट मनोरञ्जन दिने गरेको सांस्कृतिक संयोजक दिपेन्द्र प्रधानले बताए ।

मेला घुम्न आउने दर्शकहरुलाई गुणस्तरीय खाना खुवाउने उद्देश्यले दैनिक होटलहरुमा अनुगमन गरिएको बताउँदै कलाकार तथा अतिथीहरुलाई आवास तथा खानाको व्यवस्था मिलाइएको आवास तथा खाना संयोजक गोपाल भण्डारीको भनाई छ ।

मेलामा मायादेवी पेभिलियन समेत गरी २७५ स्टलहरु रहेका छन् । कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५, अटोमोबाईल तर्पm १३, बैंक तथा वित्तीय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटीक ४, शैक्षिक परामर्श २, फुटवयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा स्टल रहेका छन् । ११ दिनसम्म चल्ने मेलाामा २ लाख ५० हजार दर्शक ल्याउने र करीब १० करोडको कारोवार गर्ने आयोजकको लक्ष्य छ ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा प्रदेश नं ५ प्रमुख मध्ये दुई गन्तव्य लुम्बिनीको मायादेवी मन्दिर, नेपालको ताजमहलको रुपमा परिचित रानीमहलको आकृतिको निर्माण गरिएको छ ।

आइतबारका मुख्य आकर्षण

सातौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०७५, पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज ख्याति प्राप्त लोकदोहोरी तथा आधुनिक गायक मिलन लामा, लोकदोहरी गायक पुनम सुनार र रेनु राना मगरले दर्शकलाई मनोरञ्जन दिनुहुने छ भने भ्वाइस अफ भैरहवा, भैरहवा खुल्ला नृत्य प्रतियोगिता र महिला र पुरुष कुस्ति प्रतियोगिता हुनेछ ।

यस्तै, तराईमा निकै लोकप्रिय रहेको कुस्ती खेलको प्रतियोगिता आजदेखि २६ गतेसम्म चल्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका महिला तथा पुरुष कुस्ती खेलाडी रहेको आयोजकले जनाएको छ । त्यसैगरी मेलामा शुक्रबारदेखि नृत्य प्रतियोगिता र तेस्रो भ्वाइस अफ भैरहवा पनि भइरहेको छ ।