‘रूपान्तरणका लागि कविता’ कार्यक्रम आयोजित

‘रूपान्तरणका लागि कविता’ कार्यक्रम आयोजित


लेखक तथा समालोचक डा. हेमनाथ पौडेलले प्रगतिशील लेखक संघ साझा मन्च भएकाले यसै रूपमै रहन दिनुपर्ने उल्लेख गर्दै विशुद्ध वैचारिक संगठनका रूपमा यसलाई विकसित गर्नुपर्ने बताएका छन् ।

प्रगतिशील लेखक संघ ३ नम्बर प्रादेशिक समितिद्वारा शनिबार काठमाडौँमा आयोजित ‘रूपान्तरणका लागि कविता’ कार्यक्रममा बोल्दै डा. पौडेलले उक्त कुरा बताएका हुन् । डा. पौडेलले संगठनले सत्तामा रहेका हुन् वा सत्ताबाहिर कुनै पनि वाम पार्टीका एजेन्डा बोक्नु नहुने पनि बताए । उनले प्रगतिवादी कविले कवितालाई कुनै व्यक्ति विशेष र समूहको गालीगलौजमा सीमित नराखी कविहरूले समाजका कुरूप यथार्थको आलोचना गरी अग्रगमन र परिवर्तनका निम्ति आफूलाई उभ्याउन सक्नुपर्ने पनिमा जोड दिए ।

प्रलेस ३ नम्बर प्रदेश प्रादेशिक समितिका इन्चार्ज खेम थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रलेसका महासचिव आर.एम. डङ्गोल र नरेन्द्रजंग पिटरले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कविहरू गोविन्द आचार्य, अशोक, कौशिला रिसाल, छायाँदत्त न्यौपाने, मिशन अधिकारी, कविता आले, गौरी दाहाल, युवराज वासुदेव, संगीता पौडेल, ढुन्डराज अधिकारी, प्रमिला राई, भीम क्षेत्री, शोभा दुलाल, सुमनराज, कृष्णहरि भट्ट, मनोहर लामिछाने, विन्दु अधिकारी ढकाल, पुण्य गौतम विश्वास, केवि गाउँले, बलराम तिम्सिना, आरसी न्यौपाने, मुक्तान थेवा, मनु विक, शेखर अर्याल, आनन्दराम पौडेल, धनबहादुर मगर, निलिमा पुन, धीरेन्द्र दुवाल लगायतले आ–आफ्ना कविता वाचन गरेका थिए ।