केरुङ-काठमाडौं रेलमार्गको प्रतिवेदन बुझाउन चिनियाँ टोली काठमाडौंमा

केरुङ-काठमाडौं रेलमार्गको प्रतिवेदन बुझाउन चिनियाँ टोली काठमाडौंमा


नेशनल रेल्वे अथोरिटी चाइनाका उपप्रशासक आन लुसुङको नेतृत्वमा १५ सदस्यीय प्राविधिक टोली आइतबार साँझ काठमाडौँ आइपुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुत्रका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन उक्त ‘उच्चस्तरीय’ चिनियाँ प्रतिनिधिमण्डल काठमाडौैँ आइपुगेको हो ।

बताइएअनुसार चिनियाँ टोलीले नेपाल सरकारलाई प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउनुको अलावा उक्त रेलमार्ग निर्माणबारे विस्तृत् छलफल पनि गर्नेछ ।

प्रतिनिधिमण्डलले सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज (सोमबार) आयोजना हुने कार्यक्रमबीच प्रस्तावित उक्त रेलमार्गबारे गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्ने चिनियाँ टोलीको कार्यतालिका छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ प्रतिनिधिमण्डलबीच भोली छलफल हुने कार्यक्रम तय भएको छ ।

आगामी शुक्रबार चीन फर्कने प्रतिनिधिमण्डलले मन्त्री महासेठसँगको बैठकमा रेलमार्गको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, मोडेल लगयातका विषयमा बृहत् छलफल गर्ने बताइन्छ । बैठकपछि प्रतिनिधिमण्डलले प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग र काठमाडौँ–पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

कुल १७१ किलोमिटर लामो प्रस्तावित पोखरा–काठमाडौँ रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड’ले यसअघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ । यो रेलमार्ग काठमाडौँको टोखाबाट सुरु भई गल्छी–कुरिनटार–आँबुखैरेनी–डुम्रे–दमौली–दुलेगौँडा हुँदै पोखरासम्म पुग्ने प्रस्ताव गरिएको छ ।

ज्ञात रहोस्, गत जेठ ६ गते नेपाल आएका चिनियाँ प्राविधिक अधिकारीहरूले रेल विभागको संयोजकत्वमा उक्त रेलमार्गको प्रारम्भिक अध्ययन शुरु गरेका थिए ।