बैठक बहिष्कारबारे बोले नेकपाका प्रवक्ता

बैठक बहिष्कारबारे बोले नेकपाका प्रवक्ता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले पार्टी बैठक बहिष्कार गरेको चर्चाले राजनीतिक बजार तातिरहेको बेला सो पार्टीका प्रवक्ता प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले पार्टी बैठक बहिष्कार गरेको नभर्इ निर्धारित समयमा बैठक नबसेपछि आफूहरु बाहिरिएको र यही विषयलाई बहिष्कार गरेको भनी प्रचार गरिएको प्रष्टोक्ति दिएका छन् ।

धादिङको त्रिपुरासुन्दरी माइ मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेका नेता श्रेष्ठले बैठकबारे गलत प्रचार भएको प्रतिक्रिया दिएका हुन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को कार्यभार पूरा गर्न पार्टीको बैठकहरु निर्धारित समयमा शुरु गर्ने, विशेष काम पर्दा १५ मिनेटसम्म कुर्ने र त्यसपछि पनि कुर्नुपर्ने भएमा पार्टी अध्यक्ष वा महासचिवले जानकारी दिनुपर्ने पूर्वसहमतिअनुसार बैठक शुरु गर्ने भनिएकोमा समयभन्दा १५ मिनेट ज्यादा कुरीसक्दा पनि पार्टी अध्यक्ष र महासचिव दुवै जना नआएपछि आफूहरु बाहिरिएको उनको भनाई छ ।

सो विषयलाई अतिरञ्जनापूर्ण ढंगले प्रचार गरिँदा धेरैमा भ्रम उत्पन्न भएको भन्दै प्रवक्ता श्रेष्ठले बैठक बहिष्कार गरेको सन्दर्भ वास्तविक नभएको भन्दै खण्डन गरे ।

तस्बिर रासस