फ्रान्समा हिंसात्मक बन्दै सरकारविरोधी आन्दोलन

फ्रान्समा हिंसात्मक बन्दै सरकारविरोधी आन्दोलन


फ्रान्समा राष्ट्रपति म्यानुअल माक्रोँको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टी–सर्टधारीमध्ये एक हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ परेकामध्ये एक हजार २ सय २० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ ।

शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीले भाग लिएको बताइएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परी १ सय ३५ जना घाइते भएका छन् । गत महिना इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीले राष्ट्रपतिकै राजीनामा माग्न थालेका छन् ।

फ्रान्सको सीमा क्षेत्रमा बेल्जियमका युवाले पनि ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा भाग लिएका छन् । त्यहाँबाट पनि दर्जनौँ गिरफ्तार भएका थिए । प्रहरीले युवाले पहेँलो टी–सर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी खटाएको जनाएको छ ।

प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका थिए । उनीहरूले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिँड्न पनि दिएका थिएनन् ।