विष्टको निधनप्रति राखेप कोषाध्यक्षद्वारा दुःख प्रकट

विष्टको निधनप्रति राखेप कोषाध्यक्षद्वारा दुःख प्रकट


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टका बुबा केवलमान विष्टको ९१ वर्षको उमेरमा भएको दुःखद निधनप्रति राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सैलेश कर्माचार्यले गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।

कोषाध्यक्ष कर्माचार्यले मंसिर २२ गते सुनसनीको इटहरीमा विष्टकै निवासमा पुगेर समवेदना प्रकट गरेका हुन् । सो अवसरमा कोषाध्यक्ष कर्माचार्यले विष्टलाई समवेदनापत्र दिँदै शोकसन्तप्त परिवारप्रति धैर्यधारणको कामना गरेका थिए ।

त्यस्तै, कोषाध्यक्ष कर्माचार्यको समवेदनापत्र राखेपका कर्मचारी कुमार बस्नेतले पढेर सुनाएका थिए । सो अवसरमा राखेपका विभागीय प्रमुख वासुदेव आचार्य, कानुन शाखाका प्रमुख नारायणराज अर्याल, कर्मचारी तथा प्रशासन शाखाका प्रमुख विनोद उप्रेती, निर्माण पूर्वाधार शाखाका इन्जिनियर राजु श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, कोषाध्यक्ष रमा कोइरालालगायत राखेपका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा राखेप कर्मचारी संघले पनि समवेदनापत्र वाचन गर्दै सदस्यसचिव विष्टका बुबाको निधनप्रति गहिरो दुःख प्रकट गरेको थियो । समवेदनापत्र वाचनपछि सदस्यसचिव विष्टले काठमाडौंदेखि इटहरीसम्म आएर समवेदना प्रकट गर्नुहुने सम्पूर्ण शुभचिन्तक मित्रहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

विष्टको बुबाको निधन मंसिर १६ गते आइतबार आफ्नै निवासमा भएको थियो । स्वर्गीय विष्ट एक वर्षदेखि घुँडाको समस्याबाट पीडित रहेका थिए । उनी एक वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको सदस्यसचिव विष्टले सो अवसरमा जानकारी दिए ।