ढोरपाटन महिला डबल लिग भलिबल माघमा

ढोरपाटन महिला डबल लिग भलिबल माघमा


१४औँ संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल माघ पहिलो साताबाट हुने भएको छ । भलिबल लिग माघ ५ गतेदेखि १९ गतेसम्म चल्ने आयोजकले जानकारी गराएको छ ।

मंसिर २१ गते शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहप्रायोजक सुजुकीको भीजी अटोमोबाइल प्रालिका मार्केटिङ म्यानेजर नवराज कोइराला र आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालबीच सम्झौतापत्र आदानप्रदान भएको छ । तीन वर्षको लागि भएको सम्झौतामा प्रत्येक भीजी सुजुकीको स्कुटर खरिदमा ५० हजार छुट हुनेछ ।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, सेब स्कुलका प्रिन्सिपल युवराज थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा एपीएफ क्लब, न्यु डायमन्ड एकेडेकी, नेपाल पुलिस क्लब, पोखर, चितवन टाइगर्स, थ्री स्टार एकेडेमी, पारामाउन्ट एकेडेमी, सेव स्कुल र थाहा नगरपालिका मकवानपुरको सहभागिता रहने आयोजक तथा ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले तीन लाख ५० हजार, दोस्रो हुनेले २ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुनेले ६० हजार, पाँचाँै हुनले ४० हजार, छैटौँ हुनेले ३० हारजार र सातौँ हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्षखेलाडी, प्लेयर आफ दि सिरिज र एकजना भाग्यमानी दर्शकले १–१ थान स्कुटर पाउनेछन् । त्यस्तै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट कोचले समान ६–६ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ५० लाख लाग्ने अनुमान गरिएको छ ।