गणेशमान सिंह स्मृति किकबक्सिङ पुस पहिलो साता

गणेशमान सिंह स्मृति किकबक्सिङ पुस पहिलो साता


ललितपुर जिल्ला किकबक्सिङ संघको आयोजनामा गणेशमान सिंह स्मृति किकबक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । ललितपुर जिल्लाले गर्न लागेकोे यो दोस्रो संस्करण हो । आयोजकले प्रतियोगिता पुस ५, ६ र ७ गते हुने पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ, फुल कन्ट्याक्ट कराते, मुआथाई र तीन विभागीय टोली नेपाल प्रहरी, एपीएफ र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउनेछ । सहभागी खेल संघबाट हरेक तौल समूहमा एक खेलाडी अनिवार्य रूपमा आउनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, माथि र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ५० केजी, ५५ केजी, ६० केजीमाथि र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहमा गरी करिब २ सय खेलाडीको सहभागिता रहने संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

प्रतियोगिताको विभिन्न तौल समूहको विजेताले समान २० हजार पाउनेछ । दोस्रो हुनेले १० हजार तथा तेस्रो स्थान हात पार्नेले समान ५–५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १५ हजार पाउने आयोजकले जनाएको छ ।

यस्तै सबैभन्दा बढी स्वर्ण पदक हात पार्ने टिमलाई टिम च्याम्पियनस्वरूप ५० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनले जानकारी गराए । टिममा दोस्रो हुनेले २५ हजार तथा तेस्रोले १२ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता गोदावरी नगरपालिकास्थित चापागाउँ बसपार्क प्याङगाउँ चौरमा हुनेछ । तीनदिने प्रतियोगिताका लागि ३० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।