अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ता अनशनमा

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ता अनशनमा


सेयर लगानीकर्ताहरूले राज्यले आफूहरूमाथि खेलबाड गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । उनीहरूले डा. खतिवडाको राजीनामा माग गर्दै आज (आइतबार) राजधानीमा अनशन शुरु गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जको काठमाडौंस्थित भद्रकाली कार्यालयअघि अनशन बसेका सेयर लगानीकर्ताले सरकारले सेयर कारोबारलाई सहज बनाउन तत्काल विशेष कार्यक्रम नल्याए आफूहरू आमरण अनशन बस्न बाध्य हुने बताएका छन् ।

उनीहरूले सेयर बजारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीले काम नगरेपछि आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको राजीनामा मागेका हुन् । यसअघि पनि उनीहरूले अनलाइन कारोबारलाई सहज बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रपछि पनि आफ्नो मागमा सुनुवाइ नभएको उनीहरूको भनाइ छ । उनीहरूले आफ्नो कार्यक्रममा साथ दिन देशभरका सम्पूर्ण सेयर लगानीकर्तालाई आह्वान पनि गरेका छन् ।