लाज जोगाउने नाङ्गो प्रयास !





– दीपेन्द्र पाण्डे

जर्मनीमा एउटा उखान छ, ‘नाङ्गो मानिसले कसैलाई लुगा दियो भने सम्झिनुहोस्, त्यहाँ केही गडबड छ ।’ वर्तमान समय उपरोक्त उखान आफ्नो औचित्य विस्तार गर्दै नेपालसम्म आइपुगेको छ । निर्वाचनपूर्व दुई कदम अगाडि, निर्वाचनपश्चात् एक कदम पछाडि र चौतर्फी असफलतापछि पछाडि नै पछाडि पुगेको अङ्कगणितीय वाम सरकार आफ्नै जालमा फस्दै छ । जनताको भावनासँग एकाकार हुँदा प्राप्त संसदीय सफलतापछि हौसिएको सिंहदरबार अनुपयुक्त झमेलामा फस्न पुग्दा बुद्धिजीवीलाई थला पार्ने चेतावनी दिने केटौले लफ्बाजीमा ओर्लिएको छ । सर्वत्र अराजकताले राज गरेको मुलुकको राजनीतिलाई सुशासनमार्फत सही बाटोमा हिँडाउँदै समृद्धिको जग बसाउन दिनरात एक गर्नुको साटो अन्तरपार्टी एकता र प्रतिपक्षीसँग दूरी बढाउन मरिहत्ते गर्दै छ ।

‘माई भिजन’को एकल जगमा मुलुक निर्माण गर्न तम्सिएको सिंहदरबार आफ्नै कार्यशैलीको कारण आलोचित बन्न पुग्दा समर्थक र दुश्मन छुट्याउन नसक्ने नयाँ भासमा जाकिएको छ । अत्यन्त सहजपूर्ण वातावरणमा जनताले महसुस गर्न सक्ने सामान्य सुधारको सङ्केत दिनसमेत चुक्दा आलोचना गर्नेहरूलाई मुलुक र समृद्धिको दुश्मन देख्दै थला पार्ने अभिव्यक्तिपछि सिंहदरबार आँधीबेरीबीच फसेको चराजस्तो बन्दै छ । आफ्नै सहयोगी र शैलीको कारण पखालिएको छवि सपार्न होटेलमा बास बस्दै गरिएको ‘पवित्र इसाई सेवा’पछि सरकार बस्त्रविहीन भएको घटना चर्चिलको अमेरिका भ्रमणसँग मेल खाँदै छ ।

अङ्कगणितले जंगबहादुर बन्न नसक्ने, लोकतन्त्रले जंगबहादुर स्वीकार नगर्ने र कामबाट जंगबहादुर बन्ने ल्याकत कतै फेला नपर्दा सरकार सस्तो प्रचारबाजीबाटै सन्तोष लिँदै छ ।

अमेरिकी राष्ट्रपति रुजबेल्टको निमन्त्रणामा बेलायती प्रधानमन्त्री बिन्स्टन चर्चिल अमेरिका पुगे । राष्ट्रपतिको पाहुना बन्दै राष्ट्रपति भवनमा चर्चिलले रात बिताए । पक्षघातको कारण गुड्ने कुर्सीमा बसेर रातको समय राष्ट्रपति रुजबेल्ट चर्चिललाई भेट्न कोठामा गए । सोही समयमा प्रधानमन्त्री चर्चिल बाथरुमको ढोका खुलै राखेर नाङ्गै नुहाइरहेका थिए । अकस्मात् आइलागेको अनपेक्षित दृश्य देखेर रिसाउँदै राष्ट्रपति रुजबेल्टले भने, ‘लाज, शरम, घीन केही छैन । यस्तो के तमासा देखाउनुभएको ?’ चर्चिलले तुरुन्तै जवाफ फर्काए– म तपाईंलाई यो देखाउन चाहन्थेँ कि यो समय बेलायत सरकारसँग त्यस्तो केही छैन, जुन अमेरिकी राष्ट्रपतिका सामु गुप्त राख्न सकियोस् ।

वर्तमान समय सिंहदरबारको हालत चर्चिलको भन्दा किमार्थ फरक छैन । राष्ट्रवादको हावा सकिएको, समृद्धिको बोइङ रन वे मै रहेको, को–पाइलटले क्याप्टेनको कुर्सीमा अर्जुनदृष्टि मात्र राखेको कारण ‘समृद्धिको बेर्ना’मा पात थपिने सङ्केतसमेत देखिएन । ध्वंशबाट निर्माण गर्न निस्केका कालिदासहरू कवि बन्नुको साटो जालीदास बनेर निस्किए । मुलुक कसले बनाउँछ ? आजसम्म सङ्केतसमेत कहीँ–कतै नदेखिएको राजनीतिले देश कसरी र कसले बिगारे ? सर्वसाधारण मानिसले समेत वर्णन गर्न सक्छन् । शान्ति, स्थिरता, विकास र समृद्धिको भोकमा आमजनताले विवेकभन्दा भावनातिर ध्यान दिँदा अनुपयुक्त राजनीतिक उपलब्धिलाई समेत स्वीकार गर्न पुगे ।

निर्वाचन नै नगराई राजा त्रिभुवनलाई दिल्लीले राष्ट्रपिता बनाइदियो । दिल्लीले मन नपराएको संविधानअनुसार निर्वाचन गराउने देउवालाई पुरस्कारस्वरूप ‘सडकको वास’ दिलाइयो । ०५२ सालमा अल्पमतको पूर्वएमाले सरकार सडक पुगेसँगै इसाई पोल्टामा पुगेको पूर्वएमालेमार्फत जरा गाडेको इसाई मेसेनरी आज नेपाली वामहरूको धोती फुस्काउन सफल भइसकेको कारण मुलुकमा समृद्धि र शान्तिको कल्पना सर्पको काँचुलीबाट ज्याकेट सिलाएसरह बनाइँदै छ । प्राकृतिक स्रोत र साधनको चरम दोहन गर्दै आर्थिक क्रान्ति गरेको ठूलो हिस्साको समर्थनमा टिकेको पार्टी राजनीतिमार्फत दिइएको टिकट नै बढी ठान्ने अध्यक्ष एवम् प्रधानमन्त्रीले मन्त्री होइन सेवक छान्न पुगेको कारण मन्त्रिपरिषद् लुगा लगाउन सक्ने अवस्थामा छैन ।

अहिलेकै जस्ता पुर्खा पहिला हुन्थे भने वर्तमानका नेताहरूलाई इसाईले ‘विभीषण’ बनाउन डलर युरो खर्च गर्नुपर्ने थिएन । धर्म, संस्कृति र परम्परा कमजोर बनाएको पुरस्कारस्वरूप प्राप्त गर्ने खर्चपानीकै निम्ति पूर्वएमालेको विदेश विभागप्रमुख बन्न लालायित नेताहरूको दैनिकी कसरी गुज्रेको थियो ? लुक्ने विषय अब रहेन ।

कुर्सी प्राप्तिको निम्ति सङ्घीयता र धर्मनिरपेक्षता बाध्यात्मक रूपमा स्वीकार गरिएको बुझ्न इसाईहरूको गुन तिर्दातिर्दा माक्र्सवाद, लेनिनवाद, समाजवाद, जबजको लुगा खोलिदिने इसाई समिटपछि कुनै आशीर्वादले काम नगर्ने अवस्था ‘आपत्काल’ बनेर आइलागेको छ । उत्तर र दक्षिणसँग अत्यन्त राम्रो सम्बन्ध बनाइयो भन्ने सरकारलाई दक्षिणको सत्तारुढ दलको एउटा कार्यकर्ता विजय जोलीले च्यालेञ्ज गर्दा ‘चुँ’सम्म बोल्न सक्दैन । सरकारले ठूलो सफलताको रूपमा स्वामित्व लिएको ईपीजीको रिपोर्ट भारतीय प्रधानमन्त्री मोदीले बुझ्न समयसमेत नदिएको समयमा केवल रिपोर्ट बनाउनेहरूले मात्र थाहा पाएको अन्तरनिहित विषयवस्तुलाई यथास्थितिमा भारतले स्वीकार गर्दैन भन्ने विचित्रको उत्कृष्ट सम्बन्धले सिंहदरबारको हैसियत उजागर गरेकै छ ।

सार्वभौम सत्ताको प्रयोग नारायणहिटीले गर्दा संवादसम्म हुने नेपाली राजनीति अहिले इसाराबाट काम तमाम गर्ने अवस्थामा पुगेको मान्ने असङ्ख्य घटना उजागर भइसकेका छन् । अङ्कगणितले जंगबहादुर बन्न नसक्ने, लोकतन्त्रले जंगबहादुर स्वीकार नगर्ने र कामबाट जंगबहादुर बन्ने ल्याकत कतै फेला नपर्दा सरकार सस्तो प्रचारबाजीबाटै सन्तोष लिँदै छ । ठोस परिस्थितिको ठोस विश्लेषण भनेर कहिल्यै नथाक्ने नामका माक्र्सवादीहरू मुलुकको भविष्य वीर अस्पतालअगाडि हात हेर्ने ‘भरत झाँक्री’ले भनेको जस्तो वा तमाम समस्याको अचुक अस्त्र रत्नपार्कको एक मात्र औषधिमा ‘होली वाइन’ थप्दै सबै समस्या समाधान गर्दै समृद्धि ल्याउन तम्सिएको छ ।

नयाँ, उत्कृष्ट र उज्ज्वल भविष्य मात्र खोजिरहेका आममानिसलाई निराश पार्दै सपनावादीहरूले जनताले नसोचेको र नचाहेको गर्न तम्सिने, आलोचना सुन्नासाथ विगत सरकारले गरेको भन्दै पन्छिने काइदा झनै दुःखदायी मान्नुपर्छ । गिरिजाबाबु, डाक्टर भट्टराई, सुशील’दा वा अमूक नेताले गरेको काम अहिले किन गर्न नहुने ? भन्ने अकल्पनीय प्रश्नले सिंहदरबार पुरानो विरासतलाई छोड्न चाहँदैन । विगतका कमजोरी छोड्न नचाहने, मुलुकको पहिचान भत्काउन लागेका अनेक अदृश्य शक्तिबाट सुनियोजित रूपमा प्रयोग हुँदा निकट भविष्यमा जन्मने धार्मिक द्वन्द्वलाई देख्न चाहँदैन ।

कम्युनिस्टलाई सैतान मान्ने इसाई धर्मभीरूको आशीर्वादबाट मुलुकको पर्यटन विकास गर्दै समृद्धि ल्याउने ‘वाम काइदा’पछि वाम नेताको शरीरमा माक्र्सवादी लुगा बाँकी नरहेको सजिलै देख्न सकिन्छ ।

मुलुकको धर्म, परम्परा, संस्कृति, विशेषतालाई विकासको बाधक देख्ने नेपाली वाम–आन्दोलनले आफ्ना पुर्खाको उत्कृष्टतालाई कमजोरी देख्न पुग्यो । आफ्ना कमजोरीलाई पुर्खा र धर्मको कमजोरी देख्ने आँखाले तिनै पुर्खाको कमाई र विरासतलाई बेच्दै पेट भर्ने र कुर्सी ताक्ने माध्यम मुलुक निर्माणको अधोगतिको कारण बन्न पुगेको बिस्तारै खुल्दै छ । अहिलेकै जस्ता पुर्खा पहिला हुन्थे भने वर्तमानका नेताहरूलाई इसाईले ‘विभीषण’ बनाउन डलर युरो खर्च गर्नुपर्ने थिएन । धर्म, संस्कृति र परम्परा कमजोर बनाएको पुरस्कारस्वरूप प्राप्त गर्ने खर्चपानीकै निम्ति पूर्वएमालेको विदेश विभागप्रमुख बन्न लालायित नेताहरूको दैनिकी कसरी गुज्रेको थियो ? लुक्ने विषय अब रहेन ।

संविधान जारी गर्न तीन दिन पछि सार्ने प्रस्ताव नमानेको झोंकमा नाकाबन्दीमार्फत मुलुकको अर्थतन्त्र ध्वस्त पारिदिने दक्षिण र कुनै न कुनै रूपमा इसाईको ऋण तिर्न एक सेकेन्ड पनि नकुर्ने तत्कालीन राजनीतिक नेतृत्व द्वन्द्वको बिउ रोप्दै शान्तिको पैरवी गर्न तम्सिए । दरबारले जन्माएको, दक्षिणले हुर्काएको र इसाईले हाइज्याक गरेको माओवादी ध्वंसमार्फत खराब पारिएको नेपालको छवि सपार्ने नाममा पखालिएको नेपाली वाम आन्दोलन अनौठो सिद्धान्तमा बाँच्न पुगेको छ । कम्युनिस्टलाई सैतान मान्ने इसाई धर्मभीरूको आशीर्वादबाट मुलुकको पर्यटन विकास गर्दै समृद्धि ल्याउने ‘वाम काइदा’पछि वाम नेताको शरीरमा माक्र्सवादी लुगा बाँकी नरहेको सजिलै देख्न सकिन्छ ।

अन्तमा, आफ्नै कोरिया एक बनाउन नसक्नेहरूको अवार्ड थाप्दै जनताले अमूल्य मतमार्फत दिएको अवार्डको खिल्ली उडाउन बालुवाटार तम्सिएको छ । सेन्जेन कन्ट्री, सेन्जेन भिसा, युरोपियन युनियन, साझा मुद्रा चलाउनेहरूको सङ्घीयता र धर्मनिरपेक्षताको निम्ति जताबाट जे–जे पाउँछ थाप्न कस्सिएका छन् । गाँस, बास, कपास र समृद्धिको नारामा कुर्सी प्राप्त गरेका वामहरू ‘नाथ’हरूको भर पर्दै जनताको आशा र भरोसालाई ‘मृगतृष्णा’ बनाउन कम्मर कसेर लागेका छन् । जसको कारण ‘जुरो नभएको गोरु र चुरो नभएको नेता’को हातमा पुगेको सिंहदरबार लुगा लगाउँदा पनि नाङ्गो बन्दै छ ।

प्रतिक्रिया