खेलाडी देशको पहिचान होः मन्त्री बाँस्कोटा

खेलाडी देशको पहिचान होः मन्त्री बाँस्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलाडीहरुले अब खुल्ला चौरमा खेल खेल्नुपर्ने अवस्था नआउने बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४, नालामा नाला इन्टरनेशनल क्योकुसिनकाई कराते डो उग्रचण्डी नाला काभ्रेले आयोजना गरेका प्रथम नाला आइकेकेएफ अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको समापन कार्यक्रममा उनले विभिन्न नगरपालिका र ठाउँहरुमा सरकारका तर्फबाट खेलमैदान बनाउने अभियानमा रहेकाले खुल्ला चौरको चिसो र घाममा बसेर खेल्नुपर्ने अवस्था नआउने बताए ।

मन्त्री बाँस्कोटाले भने, ‘राष्ट्रको चिनारी खेल पनि हो, खेलजगत्लाई हामीले चिनाउनुपर्छ, त्यसका लागि आफ्नै मौलिकतामा विकास गर्नुपर्छ र यसमा ठूलो समुदायलाई सहभागी गराएर राज्यको लगानी सुनिश्चित गर्नुपर्छ ।’

‘खेलाडीहरु गहना नभई राष्ट्रको पहिचान हो’, उनले भने, ‘गहनाहरु सजाउनका लागि मात्रै हुन्छ, खेलाडीहरु देशको पहिचान हो, खेलमा कला, क्षमता र प्रतिस्पर्धा हुने भएकाले जीत हासिल गरेर मात्रै आफ्नो देशको झण्डा फहराउन पाइने भएकाले खेल मुलुकको पहिचान हो ।’

मन्त्री बाँस्कोटाले अन्तर्रा्ष्ट्रियजगत्मा देशको शान र मान बढाउने खेलाडीको खेलजीवनलाई सुनिश्चित गर्न सरकारले प्रयास गरिरहेको पनि बताए ।

प्रतियोगितामा पुरुषतर्फ ४० केजी तौल समूहमुनिका खेलमा किरण माझी प्रथम र मणिक केसी दोस्रो तथा ५० केजी तौल समूहमुनिका खेलमा जुगुलीकुमार दास प्रथम र धर्मेन्द्र राना दोस्रो भए । यसैगरी ६० केजी तौल समूहमुनिका खेलमा नरेश चौधरी प्रथम र सुसन लामिछाने दोस्रो तथा ६० केजी तौल समूहमाथिको खेलमा भने विष्णु नेपाली प्रथम र प्रवीण मेच्छे दोस्रो भएका छन् । त्यसैगरी महिलातर्फको प्रतिस्पर्धामा ४० केजी तौल समूहमुनिको खेलमा करिश्मा कार्की प्रथम र सुनिता थापा मगर दोस्रो तथा ४० केजी तौल समूहमाथिको खेलमा अञ्जना ढुङ्गाना प्रथम र आकृति बडाल दोस्रो भएका छन् ।