सरिताको पुरुषको बुटवलमा चर्चा

सरिताको पुरुषको बुटवलमा चर्चा


लेखक सरिता अर्यालको पुरुष कथा सङ्ग्रहबारे बुटवलमा चर्चा गरिएको छ । रेडियो जागरण र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा लेखक, साहित्यकार, अधिकारकर्मी एवं पत्रकारबीच पुस्तकले समेटेको कथा र विषयका बारेमा चर्चा गरिएको हो ।

कथाकार अर्यालले नेपाली पुरुष प्रधान समाजमा व्याप्त नारी वेदना र पुरुषसत्ताका यथार्थ कथालाई पुस्तकमा समेट्नु भएको टिप्पणीकर्ताले गरे । कार्यक्रममा ‘पुरुष’ कथासङ्ग्रहको समीक्षा गर्दै साहित्यकार एवं लेखक ऋषि आजादले पुस्तकले पुरुष वर्गभित्रका अत्याचारीको पर्दाफास गरेको बताउनुभयो । नेपाली समाजमा नारीले भोग्नुपरेका समस्या र पुरुषले गरेको दमनको बारेमा कृतिमा व्याख्या गरिएको उहाँको भनाइ थियो ।

टिप्पणीकार गिरी श्रीषले पुरुषसत्ताका कारण नेपाली समाजमा महिलाले भोग्नुपरेको समस्या पुस्तकले उजागर गरेको बताउनुभयो । पत्रकार एवं साहित्यकार दीपक ज्ञवालीले पुरुष कथा सङ्ग्रहले महिलामाथि भएको अत्याचार र पीडालाई कथाका रुपमा बाहिर ल्याएको टिप्पणी गर्नुभयो । पुस्तकमाथि टिप्पणी गर्दै मिनाक्षी न्यौपानेले नेपाली समाजका महिलाको जीवनमा मेल खाने कथा ‘पुरुष कथा’मा भएको बताउनुभयो । राससका अनुसार साहित्यकार एंव लेखक दीपक विश्वकर्माले युवा अवस्थामा जीवनको ऊर्जाशील समय प्रवासमा बिताउँदा सिर्जना बाहिर ल्याउन नपाएको पीडा पोख्दै अहिले अध्ययन र लेखनमै समय व्यतीत गर्ने गरेको बताउनुभयो ।

लेखक सरिता अर्यालले समाजको यथार्थतालाई कथाका रुपमा प्रस्तुत गरेको बताउनुभयो । विसं २०५४ देखि पत्रकारिता र लेखन कार्यमा क्रियाशील अर्यालको पुरुष कथा सङ्ग्रह दोस्रो कृति हो । उहाँले यसअघि ‘फर्केर हेर्दा’ कृति प्रकाशन गर्नुभएको थियो । पुस्तक बिएन पुस्तक संसारले बजारमा ल्याएको हो ।