सिड्नीमा प्रसादको वाहवाही

सिड्नीमा प्रसादको वाहवाही


– राजन घिमिरे, अष्ट्रेलिया

नेपालमा रिलिज भएकै दिन मंसिर २१ गते अष्ट्रेलियाको सिड्नीमा पनि रिलिज गरिएको चलचित्र ‘प्रसाद’ लाई सिड्नीवासी नेपालीहरूले मन पराएको पाइएको छ । ‘प्रसाद मिठो रहेछ, धन्यवाद चलचित्रको यूनीटलाई । प्रवासमा पनि राम्रो चलचित्र हेर्न पाइयो’, १० वर्षदेखि सिड्नीमा रहेका राजु केसीको चलचित्र हेरेपछिको प्रतिक्रिया थियो यो ।

राजुले मात्र नभई सबै दर्शकले चलचित्र प्रसादको खुलेर प्रशंसा गरेका छन् । पहिले दुई शोको लागि मात्र हल बुक गरिएकोमा दुबै शो हाउसफ़ुल भएपछि कोवाला सोलुसनले यो चलचित्रको अन्य शो पनि थप्ने भएको छ । चलचित्र कम्तीमा पनि दश शो जाने देखिएको शायन इन्टरटेनमेन्टले जानकारी दियो ।

सिड्नीमा रहेका नेपालीहरूले चलचित्रले उठान गरेको विषयको तारिफ गरेका छन् । अहिलेसम्मकै पृथक कथालाई उठाएर दर्शकहरूलाई बाँध्न सक्ने आफ्नो खुबीलाई लेखक सुशील पौडेल र निर्देशक दिनेश राउत सफल भएका छन् । जम्मा तीनजनाको वरिपरि मात्र चलचित्र घुम्दा पनि दर्शकहरूले कतै पनि दिक्क अनुभूति गर्न पाउँदैनन् । कलाकारहरूको सजिव अभिनय र उत्कृष्ट पात्र चयन नै यो चलचित्रको अर्को बलियो पाटो हो । पहिलोपटक चलचित्र लेखेका सुशील पौडेलले बाजी मारेका छन् भने एउटै धारमा सिनेमाहरू बनिरहेको अवस्थामा अलग धार र विषयमाथि लगानी गरेर जोखिम उठाएका निर्माता सुभास थापा सफल भएका छन् ।

शुरूमा उनलाई यस्तो विषयमाथि सिनेमा बनाउँदा जोखिम हुने भनेर भड्काउनेहरू यतिबेला हिस्स भएका छन् । तिनीहरूले बल्ल बुझे कि गाह्रो काम गर्दा पछि त्यै कामले सफलता पाउँदाको मज्जै अलग हुन्छ ।

विपिन कार्कीको सरल अनि निश्चल बस्नेतको सजिव अभिनयको साथमा नम्रता श्रेष्ठको वाह गर्नलायकको अभिनय साँच्चै उल्लेखनीय छ । यो चलचित्रको अन्य कसरी हुन्छ ? अनुमान नै लगाउन गाह्रो हुन्छ र, जसरी अन्त्य सस्पेन्स तरिकाले गरिएको छ त्यो नै सर्वोत्कृष्ट छ । जुन कारणले दर्शकहरूलाई सिनेमाले बाँध्न सक्छ ।

बिना तडकभडक अनि काल्पनिक दृश्य समावेश नगरिकन पनि विशुद्द रूपमा राम्रो र उत्कृष्ट चलचित्र बनाउन सकिँदो रहेछ भन्ने कुरा प्रसादले छर्लङ्ग पारेको छ ।