मर्केलद्वारा पार्टी नेतृत्व त्याग्ने घोषणा

मर्केलद्वारा पार्टी नेतृत्व त्याग्ने घोषणा


जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै छन् । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उनका आलोचकबीच प्रतिस्पर्धा हुँदै छ ।

यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उनले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्न्यास लिने घोषणा गरिसकेकी छिन् ।

आप्रवासी र शरणार्थीबारे नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि क्रिश्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब बढेको हो । ‘१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न पाएकामा मलाई गर्व लागेको छ । यो निकै लामो अवधि हो, र यसबीचमा सीडीयूमा धेरै उतारचढाव आएको छ,’ ह्यामबर्गमा आयोजित पार्टी भेलाका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मर्केलले बताइन् ।

‘तर हामीले मिलेरै चारवटा चुनाव जित्यौँ, र म सन् २०२१ सम्म चान्सलर अवश्य रहनेछु,’ उनले भनिन् । मर्केलले सन् २००५ देखि जर्मनीको नेतृत्व गरिरहेकी छिन् र पार्टी एवं देशलाई युरोप र विश्वकै राजनीतिक केन्द्रका रूपमा उभ्याएकी छिन् ।

दुईजना मुख्य प्रतिस्पर्धीहरू सीडीयूका उपप्रमुख आन्निग्रेट क्राम्प–कारेन्बर (एकेके भनेर चिनिने) र कर्पोरेट वकिल फ्रेड्रिक मर्जमाथि मर्केलको पदचिह्न पछ्याउने वा त्याग्ने भन्नेमा विवाद र बहस जारी छ ।

तेस्रो प्रतिस्पर्धीका रूपमा रहेका स्वास्थ्यमन्त्री हेन्स स्पान्ह भने निकै पछि छन् । उनी चान्सलर मर्केलका कटुआलोचकका रूपमा चिनिन्छन् । उनले जर्मनीमा दश लाखभन्दा बढी आप्रवासी र शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने मर्केलको नीतिमाथि खुलेरै आलोचना गरिरहेका छन् ।

‘मर्केल युगको अब अन्त्य हुँदै छ,’ राजनीतिक विश्लेषक एवं एकेकेका जीवनी लेखक क्रिस्टिना डन्जले बताए । ह्यामबर्गमा पार्टीका एक हजार प्रतिनिधि भेला भइसकेका छन् । उनीहरूले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

एकेकेमाथि मर्केलको बलियो सहयोग र समर्थन रहेको विश्वास गरिन्छ । मर्केलका निकट मानिएका अर्थमन्त्री पिटर अल्टमायरले पार्टीलाई एकताबद्ध गराउन सक्ने व्यक्ति एकेके नै रहेको भन्दै खुलेर समर्थन गरेका छन् ।

सीडीयूले जुनसुकै धार समाए पनि सत्ता साझेदार दल सोसल डेमोक्र्याट्स (एसपीडी) ले मर्केलको भविष्य निर्धारण गर्न सक्ने अनुमान पनि गरिएको छ । एसपीडी धेरै लामो समयदेखि मर्केलको छायामा परेको भन्दै पार्टीभित्रै आलोचना पनि भइरहेको छ ।