शृंखलालाई साथ दिन नेकपाका नेता चीनमा !

शृंखलालाई साथ दिन नेकपाका नेता चीनमा !


नेपाल सुन्दरी शृंखला खतिवडा चीनको सान्यामा सञ्चालन भइरहेको विश्व सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी छिन् । खतिवडा प्रतियोगिताको ३०औँ स्थानभित्र प्रवेश गरेपछि उनको हौसला बढाउन र साथ दिन नेपालबाट अहिले करिब ४० जनाको टोली चीनको प्रतियोगिता सञ्चालन भइरहेको सहर पुगेको छ ।

सो टोलीमा शृंखलाका मातापिता, आफन्त र सुभचिन्तक रहेका छन् । शृंखलाका पिता विरोध खतिवडा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद र आमा मुनु सिग्देल नेकपा मकवानपुर अध्यक्ष एवं प्रदेश सभा सदस्य हुन् ।

यसैगरी उनलाई साथ दिन हेटौँडा उपमहानगरपालिकाकी उपमेयर तथा नेकपा उपसचिव मीना लामा पनि बेइजिङ पुगेकी छिन् ।

यसैगरी शृंखलालाई साथ दिन चीन जाने सो टोलीमा तत्कालीन एमालेका मकवानपुर जिल्ला सचिवालय सदस्य मदन दाहाल, शृंखलाका काकाकाकी, मामामाइजूलगायत तत्कालीन एमालेका नेताकार्यकर्ता रहेका छन् । उनीहरू सबै आ–आफ्नै खर्चमा चीन गएको स्रोतको दाबी छ ।

शुरुशुरुका नेपाल सुन्दरी प्रतियोगिता सञ्चालन गर्दा कम्युनिस्ट पार्टीहरू यस्ता प्रतियोगिताले महिलाको शोषण गरेको भन्दै विरोध गर्ने गर्थे । सुन्दरी प्रतियोगिता भित्र हलमा भइरहँदा बाहिर नाराजुलुससहितका विरोध कार्यक्रम हुने गर्थे । तर, आज नेकपाका केन्द्रीय सदस्यकी छोरी विश्व सुन्दरी प्रतियोगिताको ३०औँ स्थानभित्र प्रवेश गर्नु र उनलाई हौसला प्रदान गर्न उनका पिता विरोध खतिवडा नेकपाका नेता–कार्यकर्ता र आफन्तसहित कार्यक्रम स्थलमा पुग्नुलाई रोचक विषयका रूपमा हेरिएको छ ।