औद्योगिक करिडोर स्थापनामा साथ-सहयोग खोज्दैछु

औद्योगिक करिडोर स्थापनामा साथ-सहयोग खोज्दैछु


झापाका ८० वटा उद्योग प्रतिष्ठान आबद्ध भद्रपुरस्थित झापा उद्योग संघका जिल्ला अध्यक्ष टीकाराज ढकाल यस भेगका उद्योगी–व्यवसायी वृत्तमा मात्र नभएर सामाजिक पहिचान बनाएका व्यक्ति हुन् । हाल झापा उद्योग संघको सिलसिलेवार नेतृत्वका हिसाबले १२औं कार्यकालको नेतृत्व गरिरहेका उनी गत: २०६६ सालको मंसीर १७ गतेयता लगातार अध्यक्षीय जिम्मेवारीमा क्रियाशील छन् । यस हिसाबले उनको वर्तमान कार्यकाल तेस्रो हो ।

एसियाकै ठूलो भनिएको गार्मेन्ट उद्योग (मोमेन्टो एपरेल्स)को स्थापना (२०५२ साल)मै प्रबन्ध–निर्देशक रहेका बेलादेखि उद्योग संघसँग सम्बद्ध युवा उद्योगी ढकाल हाल रोटरी क्लब अफ् भद्रपुरका इलेक्ट प्रेसिडेन्ट, प्रदेश नं–१ उद्योग वाणिज्य महासंघ र नेपाल–भारत मैत्री संघका सल्लाहकारका साथै नेपाल चिया उत्पादक संघसँग पनि आबद्ध छन् ।

अन्य सामाजिक गतिविधिमा पनि सक्रिय उनी मेची रंगशाला पुनर्निर्माण समितिका संयोजक र गोल्डकप फूटबल टुर्नामेन्टको दुई कार्यकाल अध्यक्ष रहेर सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । उद्योग र उद्योगीका समस्या समाधानका खातिर लागीपर्ने स्वभावका उनलाई झापाका एक सफल र नेतृत्व क्षमताका धनी उद्योगीका रूपमा समेत चिनिन्छ । उनै ऊर्जाशाली युवा उद्यमीसित गरिएको कुराकानी 

 हाल के मा संलग्न हुनुहुन्छ ?
– हाल कार्पेट, मेट्रेस लगायतका उद्योगमा आबद्ध छु । सँगसँगै चिया, सिमेन्ट र ग्यास उद्योगमा पनि संलग्न छु ।

 नेपालकै सबैभन्दा ठूलो कपडा उद्योग मोमेन्टो एपरेल्सको असफलताको कारण के थियो ?
– निर्यातमूलक उद्योग भएकाले प्रकारान्तरले देशको परिस्थिति अनुकूल भएन । देश द्वन्द्वमा गयो । सरकारले पनि संरक्षण गर्न सकेन । त्यो उद्योग व्यक्तिको मात्र थिएन, ठूलो राष्ट्रिय सम्पत्ति थियो । विदेशी खरीदकर्ताले पनि यहाँ भएको अशान्तिका कारण तयारी पोशाक अर्डर गर्न छोडे । राजनीतिक दलसम्बद्ध कतिपय संगठनहरूले पनि उद्योगमा राजनीति गर्न थाले । त्यसैले उद्योग सञ्चालनमा लगातारजसो कठिनाइ आएपछि बन्द गर्न विवश हुनुप¥यो ।

 उद्योग क्षेत्रमा लाग्ने प्रेरणा कसरी र कहाँबाट पाउनुभयो ?
– दाइ चण्डीराजको मुख्य अगुवाइ र प्रेरणा नै मेरो उद्योग क्षेत्र प्रवेशको कारण हो ।

 झापा जिल्ला ‘चिया क्षेत्र’ समेत भनेर चिनिन्छ र तपाईं पनि चिया उद्यमी हुनुहुन्छ । केही वर्ष यता चिया उत्पादक साना किसान र हरियो चिया खरीद गर्ने कारखानाहरूबीच किन विवाद बढिरहेको हो, समस्याहरू के–के छन् ?
– चिया उद्योगीका आफ्नै समस्या छन् । नेपालबाट विदेश निर्यात गर्न भारत, श्रीलंका र केन्यासँग प्रतिस्पर्धा गर्नुपर्छ । सरकारबाट पर्याप्त सहुलियत छैन । हरियोपत्तीको लागत यहाँ महंगो पर्छ । निर्यात गर्नुपर्दा भारतीय भन्सारमा कर लाग्छ । यसरी लागत नै महंगो भएपछि बिक्रीमा स्वतः समस्या आउने नै भयो । र, उद्योगीले पनि तयारी चियाको बिक्रीबाट खासै मुनाफा आर्जन गर्न नसकिरहेको परिप्रेक्ष्यमा किसानबाट खरीद गरिने हरियोपत्तीको मोल भनेअनुसार दिन नसक्दा विवाद बढेजस्तो देखिएको हो । यद्यपि समस्या निराकरणका पहल भइरहेकै छन् ।

 विषादीको प्रयोग पनि निर्यातको समस्या हो कि ?
– रासायनिक विषादी हाल्ने क्रम केही वर्ष यता बेला घटेको छ । जैविक विषादीको प्रयोग बढेको छ । चियाले राष्ट्रिय अर्थतन्त्रलाई पनि ठूलो टेवा पु¥याएको भए पनि नेपाल सरकार र चिया तथा कफी विकास बोर्डले चिया क्षेत्रमा आवश्यक सहयोग गरिरहेको छैन । राज्यको उपस्थिति न्यून छ । ६ प्रतिशत अनुदान पाउने पनि उद्योग मन्त्रालयबाट लेखाएर नल्याए पाइँदैन । उद्योगीहरूले सरकारलाई रेभेन्यु दिएअनुरुप सहुलियत पाएका छैनन् । समग्रमा भन्दा लगानीको वातावरण छैन ।

 भद्रपुरमा नवनिर्मित मेची पुल उद्घाटन हुने हल्ला छ । यस पुलबाट आवागमन सहज भएपछि यस क्षेत्रमा उद्योगधन्दाको प्रवद्र्धनमा कति मद्दत गर्ला, तपाईंलाई के लाग्छ ?
– म पनि सुन्दैछु । राम्रै कुरा हो । मेची पुल बनेर आवजजावत सहज भएपछि कच्चापदार्थ आयातमा सस्तो पर्ने र समयको पनि बचत हुने छ । यस हिसाबले यो भेगमा उद्योग स्थापनाको सम्भावनालाई बल प्रदान गर्ने मैले ठानेको छु । आयात–निर्यातमा तेस्रो देशको पहुँचमा सहजता हुने भएबाट उद्योगी–व्यवसायीलाई पक्कै राहत मिल्नेछ । उद्योगी–व्यवसायीलाई राहत मिल्नु भनेकै देश र जनतालाई राहत मिल्नु हो ।

 उद्योग क्षेत्रका लागि हाल के गरिरहनुभएको छ ?
– एउटा औद्योगिक करिडोरका लागि संघका तर्फबाट पहल गरिरहेको छु । महेशपुर, रंगियाडाँडा क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउन उपयुक्त हुनेछ । किनकि यो मानव बस्तीबाट टाढा भएकाले यस भेगमा स्थापित सिमेन्ट, दाना, इँटा जस्ता केही उद्योगले वातावरणीय प्रदूषण फैलाएको भनेर एकाधपल्ट सिर्जित विवाद भविष्यमा दोहोरिने छैन । रंगियाडाँडाको छेवैमा पनि जंगल भएकोले त्यस क्षेत्रमा उद्योगको स्थापना वातावरणमैत्री समेत हुनेछ ।

 तपाईंको कार्यकालका उपलब्धिहरू… ?
– उद्योग संघको आफ्नै भवन निर्माण गरिएको छ । सिमेन्ट, भेनियर, प्लाइउड, लगायतका उद्योगको स्थापनामा संघका तर्फबाट भरपूर सहजीकरण समेत गरिरहेको छु । र, भविष्यमा पनि यस भेगमा औद्योगिक करिडोरको स्थापना गर्ने सोचअनुरुप सबै पदाधिकारी साथीहरूको सल्लाह र सहयोग लिएर अघि बढ्नेछु । मेरो इच्छाशक्तिमा सबैले साथ दिनुहुनेछ भन्ने दृढ विश्वास राखेको छु ।