चिनियाँ कम्पनी हुवाएकी वित्तिय प्रमुख मेङ वान्झाउ क्यानाडामा पक्राउ

चिनियाँ कम्पनी हुवाएकी वित्तिय प्रमुख मेङ वान्झाउ क्यानाडामा पक्राउ


चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् ।

चीनले भने उक्त पक्राउ र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । मेङका पिता एवं हुवाएका संस्थापक रेन झेङफाई चिनीया जनमुक्ति सेनाका पूर्व इन्जिनियर हुन् ।

मेङ वानझाउ हाल हुवाएकी प्रमुख वित्तीय अधिकृत हुन् । इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवाएले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान शुरु गरेको एएफपीले जनाएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हुवाएका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् ।

संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनावका सन्दर्भमा तीन महिने युद्धबिराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ । दुबै देशका व्यापार मध्यस्थकर्ताहरुमाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी छ ।

मेङको गिरफ्तारीसँगै एसियाली सेयरबजारमा त्यसको असर देखिएको छ । साङघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ । मध्यान्हसम्म साङघाइ स्टक एक्सचेन्ज एक दशमलब ३ र हङकङ स्टक दुई दशमलब ६ प्रतिशतले घटेको छ ।

क्यानाडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ । मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको बताएको छ ।

ओट्टावास्थित चिनीयाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । हुवाएले मेङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ ।

कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ, हुवाएले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ । राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्धहरु एवं नियमहरुलाई पूर्ण पालना गरिएको छ ।’