हुकिङ गरी बिजुली चोर्नेले विद्युतका कर्मचारी पनि कुटे

हुकिङ गरी बिजुली चोर्नेले विद्युतका कर्मचारी पनि कुटे


हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छड्केमा सिरहा नगरपालिका–१३ स्थित गमहरिया फूलबरिया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयले कुटपिट गरेका छन् ।

विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई देख्नेबित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटररिडर कामेश्वर कुसियत र सहायक अरुण यादवलाई कुटपिट गरेका हुन् ।

फूलबरिया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए ।

स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताए । घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ । सिनियर मिटर रिडर कुसियतको विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिए । कुटपिट गर्नेलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।