जापानी आकाशमा जुधे दुई अमेरिकी लडाकु विमान

जापानी आकाशमा जुधे दुई अमेरिकी लडाकु विमान


जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकु विमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरूले विमानमा सवार चालक दलका सातमध्ये पाँचजना हराइरहेको बताएका छन् ।

आकाशमा एउटा लडाकु विमानमा अर्को सैनिक विमानबाट तेल भर्ने क्रममा दुवै विमान आपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकु विमान र तेल बोकेर आएको केसी–१३० सैनिक विमान एक–आपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमानजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा विमानहरू उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

अमेरिकी सैनिक अधिकारीहरू अनुसार उक्त दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकहरूले चालक दलका दुई सदस्यलाई उद्धार गरेका थिए ।

उक्त दुर्घटनाको कारणबारे अनुसन्धान शुरु भइसकेको छ । खोजी र उद्धारमा जापानी सैनिक विमान र पानीजहाज पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीहरूले बताएका छन् ।

पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकु विमान र नौसैनिक जहाजहरूको दुर्घटना हुने क्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकु विमान ओकिनावा नजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सि–हक लडाकु बिमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो ।

जापान र अमेरिकाबीचको सुरक्षा सम्झौताबमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।