काठमाडौं महानगरका ७३१ विद्यालयमा अब एउटै पोसाक

काठमाडौं महानगरका ७३१ विद्यालयमा अब एउटै पोसाक


काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोसाक लागू गर्ने तयारी गरेको छ ।

महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रूपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोसाकमा एकरूपता ल्याउनका लागि एकै प्रकारको पोसाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी गराए ।

‘विदेशका महानगरमा रहेका विद्यालयको पोसाक एउटै हुन्छ,’ कोइरालाले भने, ‘हामीले पनि एउटै प्रकारको पोसाक लगाएर महानगरका विद्यालयमा एकरूपता ल्याउन थालेका हौँ ।’
‘एकैपटक विद्यार्थीको पोसाक एउटै बनाउन समस्या हुन्छ,’ उनले भने, ‘बिस्तारै महानगरभित्रका सबै विद्यालयमा तीन–चार वर्षभित्रमा एउटै पोसाक बनाउने लक्ष्य रहेको छ ।’ विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका संघसंगठन र अभिभावकसँग छलफल, अन्तक्र्रिया गरी पोसाक कस्तो बनाउने भन्ने निर्णय गर्नेछ ।

यसैगरी महानगरले विद्यालयको बिदामा समेत एकरूपता ल्याउनका लागि शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेन्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले बताए ।

महानगरको शिक्षा विभागले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको तयारीको बहानामा अनावश्यक बिदाको समेत कटौती गर्दै स्थानीय बिदाका लागि व्यवस्था भएको पाँच दिनको प्रयोग गर्दा शिक्षा विभागको पूर्वस्वीकृति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरेको छ । काठमाडौं महानगरमा ९१ सामुदायिक र ६ सय ४० संस्थागत विद्यालय रहेका छन् ।