खेल सङ्घको विवाद अन्त्य गर्न मन्त्री तल्लीन

खेल सङ्घको विवाद अन्त्य गर्न मन्त्री तल्लीन


युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्नैपर्ने बताएका छन् । मन्त्री सुनारले उक्त कुरा हालै राष्ट्रिय खेलकुद परिषद्ले आठौँ राष्ट्रिय खेलकुद र १३औँ दक्षिण एसियाली खेलकुदको तयारी तथा १८औँ एसियाली खेलकुदको समीक्षा गर्न आयोजना गरेको समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा बताएका हुन् । सो अवसरमा मन्त्री सुनारले विगतका कमी–कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताउँदै राज्यको स्रोत र साधनले भ्याएसम्म खेलकुदको विकासमा गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेलकुदको विकास चाहने सबैसँग मिलेर अगाडि बढ्ने बताउँदै खेलकुद सङ्घमा रहेको विवादको अन्त्य गर्न जरुरी भएको बताए । त्यस्तै, राखेपका सदस्यसचिव केशवकुमार विष्टले दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने बृहत् राष्ट्रिय खेलकुदको आठौँ संस्करण समयमै हुने बताउँदै पूर्वाधार निर्माण तीव्र गतिमा तयार हुँदै गरेकाले आठौँ राष्ट्रिय खेलकुद समयमा हुँदैन कि भन्नेमा आशङ्का नरहेको बताए । सदस्यसचिव विष्टले १३औँ दक्षिण एसियाली खेलकुद गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिने हिसाबले सागको तयारी अगाडि बढाइरहेको जानकारी दिए ।

खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले खेलाडीको प्रोत्साहन, स्तरीय तालिम र सामाजिक सुरक्षाका विषयमा अझ वृद्धि गर्ने विषयमा मन्त्रालयले ध्यान दिइरहेको बताए । सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले १८औँ एसियाली खेलकुदको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए भने आठौँ राष्ट्रिय खेलकुद– २०७५ तयारी सचिवालयका प्रमुख इन्द्र कार्कीले आठौँ राष्ट्रिय खेलकुदको हालसम्मको तयारीबारे प्रकाश पारेका थिए ।