प्रदेश १ मा ११ महिनामा ५४ को हत्या

प्रदेश १ मा ११ महिनामा ५४ को हत्या


सन् २०१८ को एघार महिनामा प्रदेश १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ ।

हत्या हुनेहरूमा २० महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६ पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७ सय ५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २ सय २० र बलात्कार प्रयासबाट ९९ पीडित भएका थिए ।

यसैगरी घरेलु हिंसामा १ सय ४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट तीन, मानव बेचबिखनबाट १२, अपहरणबाट १०, जातीय विभेदबाट चारजना पीडित भएका थिए । गाली–बेइज्जतीबाट सात, हत्या प्रयासबाट नौ, गिरफ्तारीबाट ३७, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट ६, अप्राकृतिक मैथुनबाट दुईजना पीडित भएका थिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताका आधारभूत अधिकार सुरक्षित गर्न लागिपर्ने बताए । प्रदेश सभा सदस्य यशोदा अधिकारीले हत्या, हिंसा, बलात्कार, घरेलु हिंसाजस्ता घटना न्यूनीकरण गर्न आवश्यक पर्ने कानुन बनाएर कार्यान्वयन पक्ष बलियो बनाउन आवश्यक भएको बताइन् ।