औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित


डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडनु भएको छ । आफ्नो रोग निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने उहाँ जिद्दी गर्नुहुन्छ ।

एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको सङ्क्रमण हुन थालेको छ । धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्दै आएका छन् । ‘स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्’, सङ्क्रमित कमला मल्ल भन्छन्, ‘एक महिलाले २४ महीनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।’ औषधि सेवन नगरेकै कारण उनको छिट्टै मृत्यु भएको उनको जिकिर छ । विसं २०६२ मा पहिलो पटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुल्ला बन्नुभएकी कमला भन्छन्, ‘कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही राम्रो हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।’

जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्क्बिहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मी जानकारी दिन्छन् । विश्व एड्स दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल ७६४ सङ्क्रमितमध्ये १५१ को मृत्यु भइसकेको बताउँदै उनले ६० जनालाई जिल्ला बाहिर सिफारिश गरिएको छ ।