चर्चामा प्रियङ्काको ७५ फुट लामो वेडिङ गाउन

चर्चामा प्रियङ्काको ७५ फुट लामो वेडिङ गाउन


गत साता जोधपुरमा प्रियङ्का चोपडाको राजशी पाराबाट भएको विवाह विविध प्रसङ्गका कारण अझै चर्चामा छ । अभिनेत्री प्रियङ्काले इन्स्टग्राममार्फत आफ्नो वैवाहिक पोसाकको तस्बिर सार्वजनिक गरेपछि उनको बिहेको चर्चामा अर्को एउटा विषय थपिन पुगेको छ ।

उनले विवाहको मुख्य समारोहमा जुन गाउन पहिरिएकी थिइन्, त्यो ७५ फुट लामो थियो भने त्यसमा बीस लाखवटा सितारा सजाइएको थियो । विख्यात बस्त्र डिजाइनर रोल्फ लोरेनद्वारा डिजाइन गरिएको उक्त ‘वेडिङ गाउन’ यति ठूलो थियो कि त्यसलाई सम्हाल्नका लागि ६–७ जनाको एउटा बेग्लै टिम आवश्यक परेको थियो ।

प्रियङ्काको उक्त गाउन देख्ने कतिपयले ‘डचेच अफ ससेक्स मेगन मर्केलले आफ्नो बिहेमा पहिरिएको वेडिङ गाउनलाई प्रियङ्काको पोशाकले तुच्छ सावित गरिदिएको’ टिप्पणी समेत गरे । मर्केलले विवाहमा लगाएको गाउन जम्मा १६ फिट लामो थियो ।

प्रियङ्काको वैवाहिक बश्त्रमा प्रयोग भएका सितारा सबै हातले लगाइएको थियो । उनले गत शनिबार जोधपुरस्थित राजमहलको लनमा आयोजित समारोहमा उक्त गाउन पहिरिएकी थिइन् ।

इसाई रीतिरिवाजबाट भएको उक्त समारोहमा पादरीको भूमिका प्रियङ्काकै श्रीमान जोनासका बाबु पोल केविनले निर्वाह गरेका थिए, जो स्वयम् एक पादरी हुन् ।

तीन दिनसम्म चलेको विहेको दोस्रो दिन हिन्दु रीतिरिवाजबाट पनि वैवाहिक कर्म गरिएको थियो । यसकै आधारमा प्रियङ्काले आफ्नो बिहेलाई दुई धर्मको मिलन भन्ने प्रतिक्रिया दिएकी छिन् ।

२६ वर्षका जोनास र ३६ वर्षकी प्रियङ्काले आफ्नो अफेयर्सबारे खुलासा भएको केही महिनामै सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका हुन् ।

सन् २००० मा मिस वल्र्डको उपाधि जितेकी प्रियङ्का वलिउडकी सर्वाधिक कमाई गर्नेमध्येकी एक स्टार हुन् भने उनले हलिउडमा पनि काम गरेकी छिन् ।