कुरो विकास र प्रगतिको

कुरो विकास र प्रगतिको


– स्वयम्भुनाथ कार्की

शब्दहरूका केही जोडी यस्ता हुन्छन् जो समानार्थी भएको भ्रम दिन्छन । यही जोहीमध्ये एक हो ‘विकास र प्रगति’ । यी दुई शब्दमा फरक छ , विकास र प्रगतिले एकै अर्थ दिँदैनन् । विज्ञानमा डेभलपमेन्ट अर्थात् विकास अनि ग्रोथ अर्थात् वृद्धि, प्रगति । विज्ञानको परिभाषाअनुसार विकासको माप प्रगति हुन्छ, तर हरेक प्रगति विकास हुँदैनन् । जीवविज्ञानबाट एक उदाहरण लिन सकिन्छ– एक बिउ अङ्कुरण हुन्छ यो विकास हो । त्यो बिरुवा विकासका कारणले भएको प्रगति वा वृद्धि हो । त्यो बिरुवा बोट बन्छ अनि प्रगति देखिन्छ त्यसको आकार । अर्थात् त्यो बिउको विकासको दर बिउबाटमा प्रगति हुनु हो ।

त्यो बोटमा धोद्रो बन्न शुरु हुन्छ, बिस्तारै त्यो धोद्रोको प्रगति हुन थाल्छ । त्यो धोद्रोको प्रगति हुँदै बोट नै सखाप पार्छ । त्यो प्रगतिले बोटको विकास देखाउन्न । प्रगति अर्थात् वृद्धि र विकास सबै वेलामा अन्योन्याश्रित हुँदैनन् । विकाससापेक्ष हुन्छ भने प्रगति वा वृद्धिनिरपेक्ष । अर्थात् हरेक प्रगति वा वृद्धि सबैका निमित्त विकास हुँदैनन्, कसैका निमित्त विकास र सबैका निमित्त विनास हुन सक्छन् । यसै उदाहरणमा बिउको विकास बोट भयो धोद्रोको विकास बोटको विनाश भयो । विकास र प्रगतिको यो फरक नेतृत्व गर्ने, गर्न चाहानेलाई थाहा छ कि छैन यो जनताले जान्न आवश्यक हुन्छ ।

रानीपोखरी र त्यो पोखरीको बीचमा रहेको मन्दिरको अवलोकन दृश्यावलोकन त्यही पोखरी खुम्च्याएर बनाएको क्याफेमा चिया पिउँदै गर्नु निःसन्देह प्रगति हो । तर, त्यो प्रगतिले रानीपोखरीको इतिहास, परम्परा र आस्थामा गरेको प्रहार विकास हुँदै होइन ।

आफ्ना नेता, विकासकर्मी भनिने जमात अनि योजना बनाउने जिम्मेवारी बोकेकाले यो बुझेका छन् कि छैनन् भन्ने जान्न खोजेमा रोचक नतिजा आउँछ । धेरैले त यसको फरक बुझेको भेटिन्न । कोहीकोहीले त ‘कस्तो मूर्खतापूर्ण प्रश्न’ भन्न बेर छैन । अलि सभ्य भएर भनेमा यो दार्शनिक प्रश्न भयो भन्लान् । केही यसको अर्थ बुझेका पनि भेटिन्छन् । तर, त्यसलाई काममा लगाइएका भने भेटिन्नन्, व्याख्यानमा बुझाउने तर प्रयोगमा बुझ पचाउनेहरू नै छन् । अपवादमा कसैकसैले प्रयोग गर्न चाहे पनि एक्लै पर्नले उसको प्रयत्न विफल हुन्छ । त्यसैले विकासका नाममा विनाश गर्नु वर्तमानको प्रारब्ध भएको छ । यदि कसैकसैले यो औँल्याउने प्रयत्न गरेमा एक स्वर गरेर त्यसलाई विकासविरोधीको नाम दिएर हियाउन सबै लाग्छन् । विशेषतः सञ्चार जगत्लाई सूचना प्रवाह गरेर समाजलाई जागरुक बनाउनेभन्दा समाजलाई अर्ती दिने हाकिमको रूपमा बुझ्ने सञ्चारकर्मीहरू खनिने गर्दछन् ।

यो फरक नजान्नाले के फरक पर्दछ र भन्ने सोच पलाउन सक्छ । तर, यसले पार्ने फरक धेरै ठूलो छ । यो फरक नगर्नाले कसैको उठिबास लाग्न सक्छ, कसैको जीवनमरणको प्रश्न आउन सक्छ । यसको निमित्त जनकपुर रेल्वे विस्तारको क्रममा घरवारविहीन भएका ४० घर मेहेस्तर छन् । पुस्तौँदेखिका काठमाडौं खाल्टोका बासिन्दा छन् जसको पुस्तौनी वासस्थान विकासको भ्रममा गरिएको प्रगतिले निलेको छ । कङ्क्रिटको जङ्गल बनाएर त्यसको बार्दलीमा सिमेन्टको गमलामा विरुवा रोपेर हराभरा बनाएको दावा प्रगति गर्न सक्छ, तर विकास त्यस स्थानमा लज्जित भएर मुख लुकाउँछ । मन्दिर परिसर साँघुरो बनाएर निर्मित पसल कवलहरूले त्यो मन्दिरको आय बढाएर प्रगति त गर्ला, तर त्यसका श्रद्धालुलाई साँघुरो बनाएर श्रद्धामा आँच पुऱ्याएर विकास हुन्न ।

नगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा आएको भ्यूटावरको आकर्षणले पक्कै प्रगति त गर्छ नै । तर, त्यो भ्यूटावरबाट देखिने दृश्यमा जनतालाई कष्ट हुने अवस्थामा फरक नदेखिनाले विकास हुन्न । रानीपोखरी र त्यो पोखरीको बीचमा रहेको मन्दिरको अवलोकन दृश्यावलोकन त्यही पोखरी खुम्च्याएर बनाएको क्याफेमा चिया पिउँदै गर्नु निःसन्देह प्रगति हो । तर, त्यो प्रगतिले रानीपोखरीको इतिहास, परम्परा र आस्थामा गरेको प्रहार विकास हुँदै होइन । प्रगतिले विकासको पनि र विनाशको पनि मापन गर्छ, तर हरेक प्रगति विकास भने होइनन् । त्यसैले प्रगतिलाई विकास भनिने भूल गरिनुहुन्न, प्रगति भौतिक हुन्छ विकासले जनताको मन छुन्छ ।