इसाई सम्मेलनका कारण कम्युनिस्ट नेता बने विवादास्पद

इसाई सम्मेलनका कारण कम्युनिस्ट नेता बने विवादास्पद


नेपालमा इसाई धर्म प्रचारमा विशिष्ट योगदान पुऱ्याएबापत नेकपाका सहअध्यक्ष प्रचण्डलाई युनिभर्सल चर्चसम्बद्ध व्यक्तिहरूले उनको घरमै पुगेर मेडल तथा बहुमूल्य उपहार दिए । तीन महिनाअघि नै प्रचण्डलाई ‘पिस एम्बेसडर’ घोषणा गरिएको थियो । विवादमा परिने भयले प्रचण्डबाट आफू ‘पुरस्कृत’ भएको खबर जोडतोडका साथ प्रचार गर्ने कार्य भने भएको छैन । केपी ओली र माधव नेपालहरू विवादमा परेपछि एकप्रकारले सन्तुष्टि लिइरहेका प्रचण्डले यसपटक इसाईहरूलाई भित्री रूपले मात्र सहयोग पुऱ्याएको बुझिन्छ ।

युनिभर्सल पिस फेडेरेसनको नाममा आयोजित एसिया प्यासिफिक समिटमा सक्रिय सहभागी भएर माधवकुमार नेपालले इसाईहरूमाझ आफ्नो उचाइ बढाउने ‘सफलता’ प्राप्त गरे पनि बाँकी नेपालीका आँखामा उनी धेरै तल खसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर १५ गते आयोजित समारोहमा सहभागी भएर जे बोले त्यो अत्यन्त राम्रो बोले । उनले पूर्वीय दर्शन, धर्म, परम्परा र संस्कृति उच्चस्तरको रहेको भनेर व्याख्या पनि गरेका हुन्, तैपनि आममानिसले केपीको सहभागिता मात्रलाई पनि रुचाएनन् । प्रधानमन्त्री केपीको लोकप्रियतामा यस घटनाले धेरै ठूलो क्षति पुऱ्याएको छ ।

सन मियुङ मुनद्वारा स्थापित युनभर्सल चर्चले विश्वका गरिब तथा दरिद्र मुलुकका उच्चपदस्थ व्यक्तिहरूलाई प्रभावमा पारी आफ्नो सञ्जाल फैलाउने काम गर्दै आएको छ । नेपालमा पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय व्यवस्था स्थापना भएयता युनिभर्सल चर्चले आफ्ना गतिविधि क्रमशः बढाउँदै लगेको छ । साढे दुई दशकअघि चर्चका संस्थापक मुन आफैँ पनि नेपाल आएका थिए । केही वर्षयता एकनाथ ढकाल नामक इसाईले युनिभर्सल चर्चको स्थायी दूतका रूपमा काम गर्दै आएका छन् । करिब डेढ दशकदेखि नेकपाका नेता माधवकुमार नेपालले पनि उक्त इसाई धार्मिक संस्थासँग जोडिएर काम गर्ने गरेको रहस्य हालै खुलेको छ ।

मुनको निधनपश्चात् युनिभर्सल चर्च सञ्चालनको जिम्मेवारी उनकी पत्नी हाक जा हान मुनले सम्हालेकी छिन् । धनाढ्य महिलाका रूपमा चिनिने हाक आफू जिससकी छोरी भएको दाबी गर्दछिन् । नेपालका कम्युनिस्ट नेताहरूसँगको बैठक र परामर्शपश्चात् तीन महिनाअघि काठमाडौंमा एसिया प्यासिफिक समिट गर्ने र सम्मेलनमा हाकलाई जिससपुत्री घोषणा गरिने कार्यक्रम तय भएको थियो ।

जिसस क्राइस्टले सबै काम गरिनसकेकोले उनले गर्न बाँकी राखेको कार्य सम्पन्न गर्न जन्मेको जिससपुत्री आफू भएको दाबी गर्ने हाकलाई विश्वको एक मात्र हिन्दूराष्ट्रबाट ‘जिससपुत्री’ घोषित हुने इच्छा थियो । उनको यही इच्छा पूरा गर्न एकनाथले इसाई घोषित भइनसकेका माधवकुमार नेपालमार्फत चाँजोपाँचो मिलाएका थिए । एकनाथ र माधव नेपालको आयोजनामा तीन महिनाअघि काठमाडौंस्थित होटेल ऱ्याडिसनमा एक बैठक भएको थियो । बैठकमा एकनाथ र माधवका अतिरिक्त प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र झलनाथ खनाललगायत नेताहरूको सहभागिता थियो । झलनाथ खनालले केही वर्षअघि पाएको ‘पिस एम्बेसडर’को मान प्रचण्डलाई दिइने निर्णयसँगै नेपालमा एसिया प्यासिफिक समिट गर्ने कार्यक्रम सो बैठकबाट तय भएको थियो ।

ऱ्याडिसन बैठकको निर्णयअनुसार नै गत साता काठमाडौंमा एसिया प्यासिफिक समिट आयोजना गरिएको थियो । सम्मेलनका लागि आर्थिक सहयोगसहित सहआयोजक बन्ने निर्णय ओली सरकारले गरेको र आयोजकहरूले नेपाल सरकारलाई सहआयोजकका रूपमा प्रचार पनि गरेका थिए । तर, नेकपा सचिवालयको मङ्सिर पहिलो साता सम्पन्न बैठकमा यस विषयलाई लिएर निकै चर्काचर्की भयो । एउटा आईएनजीओसँग सरकारले सहकार्य गर्न नहुने र त्यो पनि इसाई धर्मसँग सम्बन्धित संस्थासँग सहकार्य गर्दा गलत सन्देश जाने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएपछि बैठकले सरकार सहआयोजक नबस्ने निर्णय लिएको थियो ।

बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री रहँदा पनि एकनाथ ढकालले यस्तै प्रकारको कार्यक्रम आयोजना गरी सरकारलाई सहआयोजक राख्न प्रयास गरेका थिए । प्रधानमन्त्रीका रूपमा बाबुरामले एकनाथलाई सकारात्मक जवाफ दिए पनि उपप्रधानमन्त्री रहेका नारायणकाजी श्रेष्ठले इन्कार गरेपछि त्यसबेला एकनाथको सपना पूरा हुन सकेको थिएन ।

नेकपा सचिवालयले सरकार सहआयोजक बस्न नहुने निर्णय गरेलगत्तै एकनाथ ढकालले पत्रकार सम्मेलन गरी हाक जा हान मुनलाई जिससकी छोरी घोषणा कार्यक्रम नहुने जानकारी गराएका थिए । पार्टी सचिवालयको निर्णयपश्चात् एकनाथले वेबसाइटबाट ‘नेपाल सरकार सहआयोजक भन्ने व्यहोरा हटाएका थिए । सरकार औपचारिक रूपमा सहआयोजक नरहे पनि सहयोग गर्ने मामिलामा भने कुनै कुञ्जुस्याइँ नगरेको बताइन्छ ।

यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री रहँदा पनि एकनाथ ढकालले यस्तै प्रकारको कार्यक्रम आयोजना गरी सरकारलाई सहआयोजक राख्न प्रयास गरेका थिए । प्रधानमन्त्रीका रूपमा बाबुरामले एकनाथलाई सकारात्मक जवाफ दिए पनि उपप्रधानमन्त्री रहेका नारायणकाजी श्रेष्ठले इन्कार गरेपछि त्यसबेला एकनाथको सपना पूरा हुन सकेको थिएन । तर, यसपटक माधवकुमार नेपाल र प्रचण्डलगायतका नेताहरूको प्रयासका कारण सरकार सहआयोजक बन्न राजी भएको थियो । नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको विरोधका कारण सरकार सहआयोजक बन्नबाट औपचारिक रूपले पछि त हट्यो, तर भूमिका सहआयोजकसरह नै निर्वाह गरेको देखियो ।

युनिफिकेसन चर्चद्वारा आयोजित र प्रायोजित यस कार्यक्रममा इन्टरनेसनल कन्फरेन्स अफ एसिएन पोलिटिकल पार्टिज (आइक्याप) पनि सहआयोजक रहेको भनी प्रचार गरिएको थियो । आइक्यापको स्थायी समितिमा नेपालबाट झलनाथ खनाल र सुजाता कोइराला रहेका छन् भने फिलिपिन्सको क्रिस्चियन डेमोक्रेट्स अन्तर्राष्ट्रियको उपाध्यक्ष र आइक्यापको अध्यक्ष फिलिपिनो भेनेसिया रहेका छन् । भेनेसिया युनिफिकेसन चर्चमा आबद्ध व्यक्ति हुन् । उनको आबद्धतालाई आइक्यापकै आबद्धताको रूपमा चर्च र एकनाथ ढकालले प्रचार गरेका थिए ।

युनिफिकेसन चर्चले नेपालको राजनीतिक दलका अधिकांश ठूला नेताहरूलाई आफ्नो काबुमा लिएको छ । माधवकुमार नेपालको आबद्धता अलिक ज्यादा देखिएको छ भने राजन भट्टराईलगायतका युवा नेताहरूलाई संसार घुमाउने काम पनि युनिफिकेसन चर्चको प्रायोजनमा हुँदै आएको छ ।

युनिफिकेसन चर्चको एसिया प्यासिफिक समिट २०१८ (काठमाडौं) सम्पन्न भएसँगै माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको छविमा धेरै ठूलो धक्का पुगेको छ । माधव नेपाल इसाईका स्थायी र भित्री सहयोगी रहेको तथ्य सार्वजनिक हुन पुगेको छ भने प्रधानमन्त्री ओलीले एक लाख अमेरिकी डलर नगद पुरस्कार र अठार तोला सुनबाट बनेको अवार्ड पाएर पनि जनताको दृष्टिमा सम्मानित हुनुको सट्टा उनको सम्मान खस्किएको छ । प्रधानमन्त्री बनेको दश महिनामा ओलीको छविमा सबैभन्दा ठूलो धक्का यसै घटनाले पुऱ्याएको छ ।

आगामी संसदीय निर्वाचनसम्ममा धर्मान्तरण गराएर मुलुकमा इसाईहरूको बहुमत पुऱ्याउन नसक्ने हो भने कम्युनिस्ट पार्टी र त्यसका प्रमुख नेताहरूले नराम्रो पराजय भोग्ने आधार एसिया प्यासिफिकेसन समिटले बनाइदिएको छ । प्रधानमन्त्री ओलीले संविधानविपरीत पुरस्कार लिएर संविधानको अपहेलना गरेको टिप्पणीसमेत जनस्तरबाट भइरहेको छ । यो घटनापछि नेपालमा इसाईहरूको निहित उद्देश्य मात्र छर्लङ्ग हुन पुगेको छैन, कम्युनिस्ट र क्रिस्चियनबीचको सम्बन्ध पनि उजागर हुन पुगेको छ ।