पूरै जीवन देशलाई समर्पण : श्रेष्ठ

पूरै जीवन देशलाई समर्पण : श्रेष्ठ


नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ अविवाहित हुनुहुन्छ भन्ने आमजानकारीको विषय हो, तर उहाँले आजीवन विवाह नगर्ने प्रतिज्ञा गर्नुभएको स्मरण भने धेरैलाई नहुन सक्छ । नेता श्रेष्ठले आफू आजीवन विवाह नगर्ने भनी केही वर्षअघि नै सार्वजनिक गर्नुभएको थियो । कलाकार कोमलसँग नाम जोडिएर चर्चामा आएपछि नारायणकाजी श्रेष्ठसँग घटना र विचारले टेलिफोन सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘यो वाहियात हल्ला हो ।’

० हल्ला वाहियात भए पनि विवाह गर्ने कुरालाई त वाहियात मान्नुपरेन नि ?
– म कसैको विवाहलाई वाहियात ठान्दिनँ र विवाह गर्नु वाहियात कर्म पनि होइन । मलाई विवाह गर्ने मान्छेका रूपमा चर्चा गरिनुचाहिँ वाहियात हो ।

० तपाईं साँच्चै कहिल्यै विवाह नगर्ने हो र ?
– हो त, मैले धेरै पहिले नै सार्वजनिक गरिसकेको विषय हो यो । फेरि पनि भन्छु– म कहिल्यै विवाह गर्नेछैन ।

० विवाह गर्दै नगर्नुपर्ने कारणचाहिँ के पऱ्यो नि ?
– पहिले विवाह गर्ने स्थिति बनेन । अब विवाह गर्ने, घरजम बसाउनेतिर मेरो ध्यान छैन । मैले आफ्नो सम्पूर्ण जीवन देशका नाममा समर्पण गरेको छु । पारिवारिक जीवनमा अल्झिने अवस्थामा म छैन, अल्झिन चाहन्न, मेरो रुचि त्यतातिर छैन ।

० कोमल वलीसँग विवाहको चर्चाचाहिँ कसरी चल्यो त ?
– खोइ, म आफैँ पनि छक्क परेको छु । यस्ता वाहियात हल्लाहरू किन चल्छन् म बुझ्न सक्दिनँ ।

० माधवकुमार नेपालले नै यस्तो हल्ला चलाउनुभएको भन्छन् नि ?
– मलाई त्यस्तो पनि लाग्दैन । माधव कमरेडजस्ता जिम्मेवार नेताबाट यसप्रकार निम्नस्तरका काम हुन्छन् भन्ने कुरामा म पटक्कै विश्वास गर्न सक्दिनँ । कमरेड माधव यस्तो हल्का काम गरेर हिँड्नुहुन्छ भन्ने मलाई लाग्दै लाग्दैन ।

यो पनि हेरौँ-

सानो कुरामा ठूलो नेता सामेल !
https://ghatanarabichar.com/127779