तिलरूपा

1 Shares

– प्रथा

तेजावका आँखा बोकेर
यतिखेर,
समय भर्खरै भट्टीबाट निस्केको छ !
र पञ्चमी नुहाएर
तिमी उसैको दीर्घायुको कामना गरिरहेछ्यौ !

को हो त्यो
जो स्कुलबाटै छोरीहरू लुटिरहेछ ?
को हो त्यो
जो पँधेरीबाटै आमाहरू चोरिरहेछ ?
र को हो त्यो
जो पाठेघरभित्रै नानीहरूको मोल गरिरहेछ ?
हो तिलरूपा !
द्रौपदीले केस बाट्न नभ्याउँदै
आज फेरि,
युधिष्ठिरजस्तो एउटा क्षुब्ध पुरुष
बस्तीमा आएको छ– तिम्रो यौनिकतामाथि दाऊ हान्न !

मेरी तिलरूपा !
शोभराजजस्तो कृष्ण आएर
अब लुट्न सक्छ
१६ सय किशोरीहरूको गोपिनी जवानी !
बन्दीगृहमा थुनेर
उच्छृङ्खल भजन गाउन
फेरि विवश पारिनेछन्– यो समयका राधाहरू !
अब पुनः बन्न सक्दछ
पुश्यमित्र शुंगजस्तो अपराधी सेनापति
मर्यादा पुरुष श्रीराम
र अग्निकुण्डमा दहन गर्नेछ – चेरीफूलजस्ता सीताहरू !

इतिहासको घिर्नीमा टेकेर
फेरि डुक्रिनेछ
अँधेरी गल्लीको आतङ्क
निरीह ग्वालाहरूको दुःखी बस्तीमा !
धर्मको कुँडो पिएपछि
यशोदाहरूले पुनः मेटाउनेछन्
मस्तिष्कको बाह्रखरी– शिवलिङ्गको निधारमा पुछेर !
अक्षरको तलबार नचाएर
दरबारिया दास वाल्मीकिले लेख्नेछ
किर्ते तमासुकजस्तो रामायणका कल्पित श्लोकहरू !
र न्यायको प्रतिमूर्ति बृहद्रथ राजा
फेरि बनाइनेछन्– उत्पात डरलाग्दो महिषासुर रावण !

हेर त तिलरूपा !
शिरमा ताज लाएर
दधिचिजस्तो एउटा बूढो मान्छे
निरन्तर पाइन हालिरहेछ
आफ्नै सिर्जनाको बाटुलो पृथ्वीमाथि !
सायद,
अब केहीबेरमा
एउटा मूर्दाजस्तो भगवान् जन्मिनेछ
र सुटुक्क पस्नेछ
मन्दिरभित्र कुल्चिएर विवेकको मैदान !
ठीक यो बेला,
पापपुण्यको तराजु बोकेर
पुँजीबजारका सट्टेबाजजस्ता धर्मगुरुहरू
निरन्तर बिक्री गरिरहनेछन्– बजारमा तिम्रा जनेन्द्रियहरू !

तिम्रो जलेको आँत भिजाउन
पटुकी कसेर
आउनेछन् महामंगाजस्ता विष्टिनीहरू
र हरेक दिन उघाइदिनेछन्
एक डबका तिर्खा– तिम्रै आँसुको कुवाबाट !
सत्ताको लिसो थापेर
सदियौँदेखि,
मनुको मन्त्रणा जपिरहेका दुर्वासाहरू
अब ब्युँझनेछन्
र तिम्रो नै भोग चढाएर
तमासले हिनहिनाउनेछन्– बधशालाको पटाङगिनीमा !

साँच्चै तिलरूपा !
कसले रेट्दै छ
यो जीवनको गलामा तरवारको धार ?
र मुस्कुराउन नपाउँदै
ओइलिएर झरिरहेछन्– भृकुटीजस्ता छोरीहरू !
बाढीमा डुबेर
निथ्रुक्कै भिजेको बाटो देखेपछि
मुटु चसक्क दुखेर
थेरापी सेन्टर धाउने सत्ताको छातीमा
किन नदुखेको होला
हाम्रै आँसुको दहमा डुबिरहेको यो देश ?

1 Shares

प्रतिक्रिया