प्रहरीको जग्गा हत्याउन चलखेल

प्रहरीको जग्गा हत्याउन चलखेल


काङ्ग्रेस सभापति शेरबहादुर देउवाको समय नमिलेको बहाना बनाएर गत सोमबार बसेको संवैधानिक परिषद्को बैठक प्रधानन्यायाधीश छनोट गर्न नसकी अनिर्णीत रहन पुग्यो । आगामी २२ गते अर्को बैठक बस्ने भनिएको छ, तर यसबीच विभिन्न चलखेल हुने आशङ्का गरिएको छ ।

६ महिनाअघि न्यायपरिषद्ले पहिलो नम्बरमा दीपकराज जोशी र दोस्रोमा चोलेन्द्रशमशेर राणालाई सिफारिस गरी पठाए पनि सरकारी जग्गा भूमाफियालाई सुम्पेको कथित उजुरी हालेर जोशीलाई प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन हुनबाट रोकिएको थियो । तर, प्रधानन्यायाधीशको लाइनमा रहेका चोलेन्द्रशमशेर राणाले ३ अर्ब मूल्य पर्ने काठमाडौं धापासी हपाली हाइटको सशस्त्र प्रहरीको ५२ रोपनी जग्गा भूमाफियाको पक्षमा फैसला गराउन लागेको चर्चा बजारमा हुन थालेको छ । उक्त जग्गाको मुद्दामा आफ्नो पक्षमा फैसला गराउन मनोज भेटवाल, दीपक भेटवाल, महेन्द्र श्रेष्ठ र बाबुराम श्रेष्ठले सेटिङ गरेको सूत्रको दाबी छ । उक्त मुद्दाको पेसी हिजो मंगलबार (१८ मङ्सिर) मा थियो, तर चोलेन्द्रकै डिजाइनमा पेसी स्थगित गरिएको बताइन्छ ।

प्रधानन्यायाधीशको लाइनमा रहेका चोलेन्द्रशमशेर राणाले ३ अर्ब मूल्य पर्ने काठमाडौं धापासी हपाली हाइटको सशस्त्र प्रहरीको ५२ रोपनी जग्गा भूमाफियाको पक्षमा फैसला गराउन लागेको चर्चा बजारमा हुन थालेको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास तोकिएकोमा मंगलबार बिहानको कजलिस्ट निकाल्दा राणाको डिजाइनमा स्थगितमा हालिएको सर्वोच्च–स्रोत बताउँछ । राणा प्रधानन्यायाधीश भएपछि मात्र मुद्दाको किनारा लगाउन भेटवाल र श्रेष्ठहरू लागेका छन् । भूमि व्यवस्थापन विभाग, मालपोत कार्यालय चाबहिल, नापी कार्यालय चाबहिल र सशस्त्र प्रहरी बललाई विपक्षी बनाएर गोपीलाल महर्जन, सन्तु महर्जन, शुक्ललक्ष्मी महर्जन र ज्ञानबहादुर महर्जनले निर्णय बदरका लागि ०७४ असार १९ मा सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । सशस्त्र प्रहरीको उक्त जग्गामा मुद्दा हाल्ने महर्जनहरू देखावटी पात्र मात्र भएको बताइन्छ, यसमा सेटिङ मिलाउने काममा पुरानो बसपार्कमा भ्यूटावर निर्माणको ठेक्का लिएका मनोज भेटवाल, दीपक भेटवालका अतिरिक्त महेन्द्र श्रेष्ठ र बाबुराम श्रेष्ठ नामक व्यक्तिहरू लागेका छन् ।

ज्ञात रहोस्, मनोज भेटवाल एपेक्स बैंक घोटालामा समेत मुछिएका पात्र हुन् । उनीविरुद्ध नेपाल प्रहरीको सीआईबीले बैंकिङ कसुरमा मुद्दा चलाएको छ । उनलाई पक्राउ गरी थुनामा नै राखिएको थियो । तिनै भेटवालले यो जग्गा हत्याउन तीन करोड रुपैयाँ एडभान्स बुझाइसकेको सूत्रको दाबी छ । आनाको ४० लाख पर्ने मूल्यवान उक्त जग्गाको न्यूनतम ३५ लाख आनाले नै हिसाब गर्दा पनि २ अर्ब ९१ करोड पर्न आउँछ । यो मुद्दामा ०७४ असोज ३०, ०७४ मङ्सिर ११, ०७४ पुस २०, माघ ११, चैत ८ पछि एकैचोटि ९ महिनापछि ०७५ मङ्सिर १८ मा पेसी तोकिएको थियो । त्यो पनि चोलेन्द्रकै डिजाइनमा स्थगित भएको बताइन्छ ।