बेल्जियममा कांग्रेसी किचलो र फुट अस्वीकार गर्छिन् अध्यक्ष सीता

बेल्जियममा कांग्रेसी किचलो र फुट अस्वीकार गर्छिन् अध्यक्ष सीता


डिल्लीराम अम्माई, बेल्जियम

पटक पटक भन्न मन लाग्छ बेल्जियमको नेपाली समाजलाई मात्र नभएर युरोपको सबै क्षेत्रमा पहुँच राख्न सक्ने राजनैतिक अभियन्ताहरु हुनुहुन्छ बेल्जियमको जनसम्पर्क समितिभित्र । त्यसैले भनिन्छ ‘उहाँहरुको इशारामा युरोपको डायस्पोरा तरंगित हुन्छ। हरेक संगठनहरुको नेत्रितव स्थापनामा उहाँहरुको इशारा काफी हुन्छ। स्वायत्त संगठनहरु अर्ध औपनिवेशिक जस्ता हुन् पुग्छन् । सामाजिक संघ संस्था राजनीतिक जस्ता र राजनैतिक संघ सँस्था निरीह उत्तराधिकारी जस्ता देखिन्छन् ।’ यो तर्कमा जो कसैले विमति राख्न सक्नुहुन्छ, तर यो भनाइमा दम छ र त्यसलाई पुष्टि गर्ने आधार छन् हामीसँग।

नेपाली समाजको स्थापनाकालदेखि नै जनसम्पर्क समिति युरोपमा गज्जबले स्थापित छ र डायस्पोराको नेपाली समाजमा यसको जबर्जस्त प्रभाव पनि छ। तर ब्यवस्थित रुपमा स्थापित छ र यही संगठनको सिको सबैले गर्दछन् वा यसबाट प्रभावित हुनु आवश्यक छ भन्न उहाँहरुले नै दिनुहुन्न। गफै नगरी फुट्नुहुन्छ र उहाँहरुको हातमा भएको कारवाहीको धारिलो तरवारले कारवाहीमा दुईचार महिना त के घण्टा कुर्न पनि मान्दैन। अब विभाजनका वर्ष गनेर र फुटमा ब्याक्तिको संलग्नताबारे किचलो झिकेर साध्य छैन।

एक थरिको आरोपले अर्कोको अस्तित्व कदाचित स्वीकार्ला। तर पनि यी दुवै गुटमा लागेका संगठनवालाहरुको उर्जाले यो संगठनको गरिमालाई कति माथि पुर्याउँथ्यो होला। त्यतातिर कसैको ध्यान गएको देखिएन। यो रोग कुनै छिद्रबाट सुटुक्क आउँछ। त्यो नेपालबाट आउँछ कि अन्तबाट कसैलाई थाहा हुदैन। बबण्डर मच्चाउँछ र खेलाबैला गर्दै नेपालसम्म पुग्छ। त्यो वाहियात फुटमा खर्चेको उर्जाको महत्व अनावस्यक रुपले नासिएको देख्दा कसैलाई रमाइलो लागे पनि क्षतिले भिजाएका निरास कुण्ठाले सिंगो समाजमा नकारात्मक प्रभाव पारेको छ । आखिर त्यो सत्यानासबारे नेतृत्व र अगुवाहरुले एक दशकमा त समिक्षा गर्नु पर्थ्यो, गर्नुभएन ।

दुःखपुर्वक भन्नुपर्छ, उहाँहरुको उर्जाले अझै पनि समाजको अस्तित्व, आस्थावानहरुको समर्थनप्रतिको अनुरागलाई आफ्नो सर्वस्व उत्सर्ग गरेर भएपनि सम्मानपुर्वक सम्बोधन गरोस् । यो कुनै एक पक्षलाई राखेको कुरो हैन। यो तत्-तत् वालाको संगठनको समस्या मात्र हैन, सिंगो सामाजिक अभियानको क्षयीकरण हो।

हाम्रो नेपाली संस्कृति एकतामा रमाउने, विजयमा खुशी हुने र सामाजिक सद्भावमा एकाकार हुने संस्कृति हो। अत यहि मनोविज्ञानलाई सम्मान गर्न सम्मानित दुवै अभियन्ताहरुलाई पंक्तिकार अनुरोध गर्दछ। ‘तपाईंहरुले आफ्नो ब्याक्तिगत जीवनको धेरै अंश समाज र लोक हितको लागि समर्पण गर्ने मनशायबाट सार्वजनिक जीवनको बाटो रोज्नुभयो। अब तपार्इंहरुको ब्याक्तिगत हठ, उत्साह, निजि आग्रह, पूर्वाग्रह र आत्मसम्मानलाई पनि समाजको अधिनस्थ गर्नुहोस् । तपार्इंहरुको त्यो त्यागलाई इतिहासले सम्मान गर्ने छ। तपार्इंहरुका अन्तिम दिनहमा समेत तपाईं आफ्नो त्याग र समर्पणबाट सन्तुष्ट हुनुहुनेछ। यो फुटलाई मिलाउने तागत तपार्इंहरुसँग छ, युरोपभरि सञ्जाल बनाउन सक्ने दुवै खेमाका मित्रहरुमा त्यो सामर्थ्य छ। कृपया तत्परता देखाउन ढिला नगर्नुहोस्।’

दुवै पक्षले के बुझ्नुपर्छ भने एउटा मिडियाकर्मीको कुनै आफ्नो चासो मात्र हुँदैन, मिडियाकर्मीको चासो जनचासोसँग जोडिएर आऊँछ र आउनुपर्छ। त्यो चासो मिडियामार्फत आएको मात्र हो। यी पंक्तिकारका आग्रह मात्र हैनन् । यो सिंगो डायस्पोराको बोली हो। यसलाई दुवै पक्षमा विभाजित देखिनुभएका मित्रहरुले त्यहि रुपमा बुझी दिनुहोला।

अर्को कुरा के पनि सत्य हो भने राजनीतिमा त्यागको अर्थ समर्पण मात्र हुन सक्दैन। विधानको पालना मात्र पनि हुन सक्दैन। त्यागको अर्थ संगठनको एकता, रचनात्मक गतिविधि, सुधार, मजबुतीकरण र रुपान्तरण पनि हो। यो नेतृत्व९नेतृत्व भन्नाले सिंगो टिमको सवालमा अहम रुपमा हो भने सबै कार्यकर्तामा पनि। मेरो अस्तित्वभित्र संगठन खोज्ने प्रवृत्तिले फुटमा लैजान्छ। संगठनको अस्तित्वभित्र आफू, आफ्नो भूमिका र संगठनको गरिमा अटाउनु पर्छ। त्यसपछि छलफल रचनात्मक दिशातर्फ मोडिन्छ। संगठनको रचानात्मकताले रुपान्तरणमा लैजान्छ। यसरी ब्यक्ति इतिहास मात्र बन्दैन भावी दिनमा उसको नेतृत्व आदर्श बन्दछ। अहिले विवादित बनेका दुवै समुहका नेतृत्वले यिनै कुरा मनन गरुन् भन्ने उद्देश्यलाई केन्द्रमा राख्दै उहाँहरुको धारणा सार्वजनिक गरिएको हो, जुन सुचनाको न्याय र पत्रकारिताको धर्म पनि हो।

सारमा भन्दा बेल्जियममा कांग्रेसी किचलोको समाप्ति र पुनः भावनात्मक एकताको उदघोष होला कि नहोला भन्ने ब्यापक जनचासो छ। त्यही सन्दर्भमा अघिल्लो हप्ता जनसम्पर्क समिति महासचिव तथा विद्रोही समुहको नेतृत्व गरेका सुवास गुरुङसंगको कुराकानी सार्वजनिक गरिएको थियो भने अहिले अध्यक्ष सीता सापकोटासँग आपसी मदभेद र सांगठानिक विभाजनका कारण र एकताको भावी सम्भावनाबारे गरिएको कुराकानीको भिडियो प्रस्तुत गरिएको हो ।