सुन तोलाको ६ सय बढ्यो, नेप्से १० अंकले वृद्धि

सुन तोलाको ६ सय बढ्यो, नेप्से १० अंकले वृद्धि


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार चार सयमा कारोबार भइरहेको छापावाल सुन आज (आइतबार) ६ सय रुपैयाँले बढेर प्रतितोला ५८ हजार तीन सयमा कारोबार भएको छ ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज (आइतबार) नौ सय रुपैयाँले बढेर ५८ हजारमा कारोबार भएको छ । केही दिन स्थिर रहेको चाँदी आज २० रुपैयाँले बढेर ७२० मा कारोबार भएको छ । महासंघले आज १० ग्राम सुनको मूल्य रु. ४९ हजार ९८५ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको रु. ६०९ कायम भएको छ ।

धितोपत्र बजारमा आज (मंगलबार) सेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १० दशमलव २७ बिन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ बिन्दुले बढेर २४२ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता सेयर ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाँमा खरिद–बिक्री भएको छ । विकास बैंक उपसमूहले नेतृत्व गरेपछि आज बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

कारोबार भएका कुल दश उपसमूहमध्ये व्यापार र होटेल उपसमूहको सेयर घटेको छ । व्यापार शून्य दशमलव ५१ र होटेल तीन दशमलव ८१ बिन्दुले घटेको छ । यस्तै बैंकिङ सात दशमलव २२, विकास बैंक ३२ दशमलव शून्य दुई, जलविद्युत् सात दशमलव ४४, वित्त दुई दशमलव ५२, निर्जीवन बिमा १५ दशमलव ११, अन्य १८ दशमलव ६९, माइक्रोफाइनान्स सात दशमलव ४५ र जीवन बिमा २० दशमलव शून्य एक बिन्दुले बढेको छ ।

स्टकका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सनराइज बैंक लिमिटेडका सेयरधनीले कमाएका छन् । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् ।