शुभकामनासहित सिड्नीबाट शृंखलालाई सम्झँदा…

शुभकामनासहित सिड्नीबाट शृंखलालाई सम्झँदा…


– राजन घिमिरे, अस्ट्रेलिया

कसैले आफ्नो मुलुकको शान, मान र इज्जत बढाउन केही गर्न खोज्दै छ भने नेपाली मनदेखि नै उसको सफलताका लागि हरप्रकारको सहयोगका गर्न लागिपर्छन् । यसलाई नेपाली आफ्नो विशेषता, कर्म, धर्म र कर्तव्य नै ठान्छन् ।

विश्वसुन्दरीको ताज पहिरिन पलपलमा मिहिनेतपूर्वक संघर्षसँग जुधिरहेकी नेपाली चेली शृंखला खतिवडालाई त्यो सफलताको चुचुरोमा पु¥याउन पनि यतिबेला विश्वभरका नेपाली लागिपरेका छन् । यिनै नेपालीको एकजुटता र शृंखलाको परिश्रमले अन्ततः उनलाई उत्कृष्टको ३० भित्र पारिछाड्यो । उनले चीनबाटै भनिन्, ‘यो सब तपाईंहरूकै साथले गर्दा हो । अझै मुख्य शिखर त बाँकी नै छ ।’

उनको यो भनाइको अर्थ पनि हामी नेपालीले बुझिसकेका छौँ कि शृंखलालाई सफल बनाउन हामीले अब पहिलेभन्दा बढी नै मिहिनेत गर्नुपर्छ । यो मामिलामा विश्वभर छरिएर रहेका नेपालीबाट केही कुरामा पनि कमी रहने छैन भन्ने कुरा पनि टप ३० सम्मको अवस्थाले पनि देखाइसकेको छ । हामी नेपाली आफ्नी चेलीले इतिहास कोरेको साक्षी बस्न आतुर भएका छौँ । नेपाली चेली उत्कृष्ट ३० भित्र परेको यो नै पहिलोपटक हो । एउटा इतिहास त उनले कोरिसकेकी छिन् । अब मुख्य र गर्विलो इतिहास हात पार्न शृंखलालाई नेपालीको भरपूर साथ, सहयोग र हौसलाको आवश्यकता छ ।

अन्य मुलुकबाट जस्तै यतिबेला अस्ट्रेलियाबाट पनि शृंखलालाई विजयी गराउन ठूलै जमात सामाजिक सञ्जालमा सक्रिय भइरहेको छ । ‘शृंखला जिताऔँ’ नाराका साथ अस्ट्रेलियामा रहेका नेपाली यतिबेला दत्तचित्त भएर लागिपरेका छन् ।

हरेक प्रश्नको जवाफ हाँसेर दिने र निडर रूपमा प्रस्तुत हुने विशेषता शृंखलाको बलियो पक्ष हो । मिस नेपालको ताज पहिरिएपछि उनलाई सिनेमाको हिरोइन बन्ने प्रस्ताव पनि आएका थिए । त्यतिबेला उनले भनेकी थिइन्, ‘यतिबेला मेरो लक्ष्य र नेपालीको साथले मैले विश्व सुन्दरीको ताज जित्नु छ । त्यसपछि त म कहाँ जान्छु र ? म नेपाली चेली अनि नेपाली सिनेमा ? नखेल्ने त कुरै भएन नि ।’ उनको यो जवाफले ती निर्देशक प्रफुल्ल भएका थिए ।

हुने बिरुवाको चिल्लो पात भने जस्तै शृंखला विद्यालयजीवनदेखि नै चर्चा र सफलतालाई साथ लिएर अगाडि बढिन् । नेताकी छोरी भए तापनि राजनीतिले उनको लक्ष्यलाई विचलित पारेको देखिएन, तैपनि मुलुकको राजनीतिप्रति उनको सम्मान छ । स्कुलेजीवनमा सधैँ उत्कृष्ट पाँचभित्र पर्ने शृंखलाले एसएलसीमा ड्रिस्टिङ्सन हानिन् भने स्नातकमा त कलेज टप नै गरिन् । जहिले पनि सफलतालाई पोल्टामा हाल्न सिपालु शृंखलाले विश्वसुन्दरीको ताज नेपाल भित्र्याउँछिन् भन्न सकिने कारण थुप्रै छन् ।