कौटिल्यको गुप्तचरसम्बन्धी व्यवस्था

50 Shares

– स्वयम्भूनाथ कार्की

गुप्तचर र अनुसन्धकलाई एकै सम्झिने गल्ती प्रायः सबैबाट हुने गर्छ, तर यी दुवै भिन्न हुन् । कामको तरिका, कामको क्षेत्र अनि अपेक्षित परिणाम सबै अलग प्रकृतिका हुन्छन् । कहिलेकाहीँ गुप्तचरको सूचना अनुसन्धकको निमित्त उपयोगी पनि हुन सक्छ । अङ्ग्रेजीमा यी दुवैको निमित्त फरक शब्द छन्, ‘स्पाई’ भनेका गुप्तचर हुन् भने ‘डिटेक्टिभ’ चाहिँ अनुसन्धक हुन् । अनुसन्धक उसले अनुसन्धान गर्ने घटनाको पात्र हुँदैन, कुनै घटना वा अपराध भइसकेपछि त्यसमा क–कसको के–के भूमिका थियो भनेर पत्ता लगाउने अनि भूमिकाअनुसारको परिणामको निमित्त आवश्यक निकायसम्म पुऱ्याउने काम अनुसन्धकको हो । अपवादबाहेक अनुसन्धकहरू आफ्नो परिचय लुकाएर काम गर्दैनन् । यसको विपरीत गुप्तचरहरू धेरैजसो घटनाका आफैं पात्र हुन्छन् ।

गुप्तचरको परिचय खुलेको अवस्थामा उसले काम गर्न मात्र नसक्ने होइन आफ्नो प्राण पनि गुमाउनुपर्ने हुन सक्छ । त्यसैले हमेसा परिचय लुकाएर काम गर्ने गर्दछन् । स्वदेशमा आफ्नो संस्थाको हितमा वातावरण बनाउने, आफ्नो नियुक्ति गर्नेसँग सम्बन्धित सबै किसिमका सूचनाहरू त्यहाँसम्म पुऱ्याउने, आफ्नो संस्थाको हितविपरीतको आसन्न घटना रोक्ने र हितअनुकूलको घटना घटाउने यिनीहरूको काम हुन्छ । विदेशमा आफ्नो मुलुकको हितको निमित्त वातावरण बनाउनेदेखि लिएर त्यहाँको सत्ता पल्टाउन विद्रोह गराउनेसम्मका काम गुप्तचरले गर्दछन् । विशेष दोस्रो विश्वयुद्धताका शुरु भएको गुप्तचरको अर्को मुलुकमा खटिने प्रणाली शीतयुद्धकालमा झन् महत्वपूर्ण भयो र अहिले पनि महत्वको छ । कुनै–कुनै अवस्थामा त एक मुलुकको गुप्तचर अर्को मुलुकको सत्ता सञ्चालनको केन्द्रसम्म पनि पुगेको पाइन्छ ।

कौटिल्यले गुप्तचरको धेरै प्रयोग स्वदेशमा र केही प्रयोग शत्रु देशमा बताएका भए पनि त्यसलाई सुघार गरेर दोस्रो विश्वयुद्धताका प्रयोग भएको छनक पाइन्छ । माताहारीलगायतका दोस्रो विश्वयुद्धताकाका गुप्तचरहरूको गाथा र कौटिल्यको अर्थशास्त्र पढ्दा यसको अनुभव स्वयम् हुन्छ । राज्य सञ्चालनमा मात्र नभएर राज्य सुरक्षा, राज्य विस्तारजस्ता कामको निमित्त पनि गुप्तचर प्रयोग गर्ने विधान कौटिल्यले गरेका छन् । यसबाहेक जनताको सन्तुष्टि, असन्तुष्टि, सत्तावरिपरि हुने षड्यन्त्रबाट बचाउनका निमित्त राज्यले हमेसा गुप्तचर राख्नुपर्ने कुरा उनी लेख्छन् । एक–अर्कामा अपरिचित तीन गुप्तचरको सूचना समान भएमा मात्र त्यसलाई सत्य मान्न निर्देश गरेका छन् ।

कौटिल्य गुप्तचरलाई दुई श्रेणीमा बाँड्छन् । एक स्थानमा स्थिर भएर काम गर्ने गुप्तचरलाई संस्था र घुमेर काम गर्नेलाई सञ्चारको नाम दिएका छन् । कौटिल्यका अनुसार गुप्तचरका दुई श्रेणी छन् । आफैं आफ्नो बर्कतले काम गर्ने र सहायक भएर अरूले अराएको काम गर्ने । पहिलो श्रेणीमा पाँच किसिम र दोस्रो श्रेणीमा चार किसिमका गुप्तचरको उल्लेख छ । यसमा बताइएका किसिमका मानिस सबै गुप्तचर हुँदैनन्, गुप्तचरहरू यस्ताका भेषमा रहेर कसैको शङ्काको घेरामा नपरी काम गर्ने गर्दछन् ।

पहिलो श्रेणी

१. कापटिक, ज्ञानी मनोविश्लेषक, शोधकर्ता, कुरा गर्न तथा मानिसलाई प्रभावमा लिन सिपालुको भेषमा रहेका गुप्तचरहरू यस वर्गमा पर्दछन् । मुलुकका विमिन्न ठाउँलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दछन् ।

२. उदरस्थित, साधुसन्त, सदाचारी समाजसुधारक आदिको भेषमा रहेर आफ्ना चेला–चपाटीको समूह बनाउने गर्दछन् । विभिन्न किसिमका अगुवाको रूपमा रहेर, जनताको मद्दत गरेर आफ्नो प्रभावमा ठूलो जनसमूहलाई ल्याउन सक्छन् ।

३. गृहपतिक, घर गृहस्थी गरेर बसेका यस्ता गुप्तचरहरू आफ्ना विभिन्न नीतिले समाजमा प्रभावशाली व्यक्ति भएर बसेका हुन्छन् । साम, दान, दण्ड, भेद सबै नीति प्रयोग गरेर आफ्ना प्रभावमा मानिसलाई ल्याउँछन् ।

४. वैदेहक, उद्योगी व्यापारीको भेषमा रहेका यस्ता गुप्तचरहरू मान्छेलाई उचित अनचित प्रभाव पारेर आफ्नो काम निकाल्न सक्षम हुन्छन् ।

५. तापस, धर्मगुरु, चमत्कारी भविष्यवक्ता, असाध्य रोग निको पार्ने क्षमता भएकाहरूको रूपमा यस किसिमका गुप्तचरहरू रहेका हुन्छन् । आफ्नो प्रवचन, काम तथा चमत्कारले आफूले चाहेको कुरामा मान्छेलाई मोड्न सिपालु हुन्छन् । यस्ता गुप्तचरहरूलाई सहयोग गर्ने वा सीधै राजाको आदेश पालन गर्ने गरेर रहने सहायक गुप्तचरहरूलाई कौटिल्य निम्न चार प्रकारमा वर्गीकरण गर्दछन् ।

१. सत्री, कलाकार, नट, मनोरञ्जन दिन सिपालु, शुभ अशुभ लक्षण जान्ने ।

२. तीक्ष्ण, धनको निमित्त जस्तोसुकै पनि खतरा मोल्न सक्ने, लड्न भिड्न सक्ने आफ्नो ज्यानको पनि पर्वाह नगर्ने ।

३. रसद, कसैको माया ममता नराख्ने, त्रूmर प्रकृतिका, कसैको हत्या पनि सहज रूपमा गर्न सक्ने विलासी स्वभावका ।

४. भिक्षुकी, सेवक वा माग्नेको रूपमा वा अकुशल कामदार यसमा पुरुषलाई मुण्डा र स्त्रीलाई परिब्राजिकाको नाम कौटिल्यले दिएका छन् ।

50 Shares

प्रतिक्रिया