चलचित्र प्रसाद अष्ट्रेलिया र नेपालमा एकसाथ

चलचित्र प्रसाद अष्ट्रेलिया र नेपालमा एकसाथ


राजन घिमिरे, सिड्नी

नेपाली चलचित्रहरूका लागि अष्ट्रेलिया बलियो र भरपर्दो बजार मान्न थालिएको छ । ब्यवसायिक रूपमा पनि नेपाली चलचित्रले अष्ट्रेलियाबाट राम्रै आम्दानी गरिरहेका छन् । चलचित्र छक्का पन्जा-३ ले यहाँ प्रदर्शनको राम्रै रेकर्ड राखेको हल्ला सेलाउन नपाउँदै आशा गरिएको अर्को चलचित्र प्रसादले पनि अष्ट्रेलियामा बजार गर्माएको छ ।

राम्रा चलचित्र निर्देशकका रूपमा चिनिएका निर्देशक दिनेश राउतले निर्देशन गरेको यस चलचित्रलाई चलचित्र पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्र प्रसाद बजारमा यसको गीत संगीत र विषयवस्तुका कारण पनि चर्चामा छ ।

विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको यो चलचित्रमा प्रमुख भूमिका रहेको छ । सुवास थापाले बनाएको चलचित्र प्रसाद नेपाल र सिड्नीमा एकै दिन अर्थात डिसेम्बर ७ तारेखका दिन रिलिज हुने भएको छ । यो चलचित्र डिसेम्बर ७ र ८ का दिन सिड्नीको हर्सभिलमा गरेको इभेन्ट सिनेमा हलमा प्रदर्शन हुने छ ।

क्वाला सलुसनले प्रस्तुत गरेको यो चलचित्रलाई गोर्खे इभेन्ट्स र सायन इन्टरटेनमेन्टले अष्ट्रेलिया भित्र्याएको हो । सिड्नीको प्रदर्शनपश्चात यो चलचित्र अष्ट्रेलियाका अन्य शहरहरूमा पनि प्रदर्शन गरिँदै जाने भएको छ ।