अमेरिकी मध्यावधि चुनावको सन्देश

अमेरिकी मध्यावधि चुनावको सन्देश


– मनोज रिजाल, न्युयोर्क

गत नोभेम्बर ६ तारिख मंगलबार संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावले राष्ट्रपति डोनाल्ड ट्रम्प, सत्तारुढ रिपब्लिकन पार्टी एवम् विपक्षी डेमोक्रेटिक पार्टीहरूमध्ये कसलाई कति फाइदा वा नोक्सान भयो भन्ने सन्दर्भमा विज्ञहरूका विचार, विमर्श, विश्लेषणहरू आउने क्रम जारी छ ।

यो चुनावको नतिजालाई विपक्षी डेमोक्रेटिक पार्टीले आफ्नो विजयको रूपमा लियो भने सत्तारुढ रिपब्लिकन पार्टी र राष्ट्रपति ट्रम्पले पनि आफ्नो विजयकै रूपमा लिए । यसरी दुवै पक्षले आफ्नो विजयको रूपमा लिएको चुनावी परिणामलाई मूलधारका पत्रपत्रिकाहरू र विज्ञहरूले ‘स्प्लिट म्यान्डेट’ (विभाजित जनादेश) का रूपमा मुख्य रूपमा बुझे ।

‘रातो पर्खाल’विरुद्ध ‘नीलो तरंग’

यो चुनावी प्रतिस्पर्धा मुलतः भन्नुपर्दा राष्ट्रपति ट्रम्पको ‘रातो पर्खाल’ र डेमोक्रेटिक पार्टीको ‘नीलो तरंग’ का बीचमा थियो । रिपब्लिकन पार्टीको आधिकारिक रातो रंग र राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको बोर्डरमा ठड्याउँछु भनी घोषणा गरेको पर्खाललाई जोडेर ‘रातो पर्खाल’को मिथक सिर्जना गरिएको थियो ।

यसैगरी, डेमोक्रेटिक पार्टीको आधिकारिक रङ नीलो र यस पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध चुनावमार्फत ल्याउन सक्ने उथल–पुथललाई सङ्केत गर्दै ‘नीलो तरङ्ग’को मिथक सिर्जना गरिएको थियो । यो चुनावमा ‘रातो पर्खाल’ पनि ठडियो र ‘नीलो तरङ्ग’ पनि फैलियो । तर, चुनावपछि न त ‘रातो पर्खाल’ नै ढल्यो, न त ‘नीलो तरङ्ग’मै कमी आयो ।

चुनावमा ‘रातो पर्खाल’ र ‘नीलो तरङ्ग’ले एक–अर्कालाई पराजित गर्न नसक्नुको मुख्य कारण जनताको विभाजित जनादेश नै रह्यो । तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)को अहिलेसम्म प्राप्त परिणामअनुसार विपक्षी डेमोक्रेटिक पार्टीले ४३५ मध्ये २३४ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ । यसैगरी, सत्तारुढ रिपब्लिकन पार्टीले पनि २०० सिट जितेर बलियो प्रतिपक्षीको रूपमा आफू रहने तथ्य स्पष्ट पारेको छ । एक सिटको परिणाम भने आउन बाँकी छ ।

यसैगरी, माथिल्लो सदन (सिनेट) का १०० मध्ये ३३ स्थानमा भएको चुनावमा हालसम्मको परिणामअनुसार रिपब्लिकन पार्टीले कम्तीमा १० सिटमा विजय हासिल गरी कुल ५१ सिटमा आफ्नो पकड बनाउँदै बहुमत कायम गर्न सफल भएको छ । यसैगरी डेमोक्रेटिक पार्टीले कम्तीमा २१ सिटमा विजय प्राप्त गरी सिनेटमा आफ्नो सङ्ख्या ४५ पुऱ्याई एक सशक्त प्रतिपक्षको रूपमा रहने तथ्य स्पष्ट पारेको छ । सिनेटको २ सिट स्वतन्त्रले जितेका छन् भने २ सिटको परिणाम आउन बाँकी छ ।

माथिल्लो सदनमा सत्तारुढ रिपब्लिकन पार्टीले भइरहेको बहुमत कायम नै राख्यो भने तल्लो सदनमा चुनाव अघि कायम राखेको बहुमत गुमाउन पुगेको छ ।

यसैगरी, संयुक्त राज्य अमेरिकाका कुल ५० राज्यमध्ये ३६ राज्य र ३ क्षेत्र (टेरिटरी) मा भएको गभर्नरको चुनावमा रिपब्लिकन पार्टीले ६ सिट गुमायो भने डेमोक्रेटिक पार्टीले थप ७ सिट प्राप्त गऱ्यो । चुनावपश्चात् कुल गभर्नरहरूमध्ये रिपब्लिकन पार्टीका २७ र डेमोक्रेटिक पार्टीका २३ गभर्नरहरू कायम रहन पुगे ।

‘यो चुनाव मुख्यरूपमा भन्नुपर्दा रातो पर्खाल र नीलो तरङ्गबीचको एक प्रतिस्पर्धाको रूपमा नै रह्यो, जसअन्तर्गत सत्तारुढ रिपब्लिकन पार्टी र विपक्षी डेमोक्रेटिक पार्टीले एक–अर्कासँग तीव्र प्रतिस्पर्धा गरे,’ रुटगर्स युनिभर्सिटीकी जनमत (ओपिनियन पोल) मा कार्य गर्ने प्राध्यापक एस्ले कोनिङ भन्छिन् ।

चुनावलाई प्रभाव पार्ने तत्वहरू

यस चुनावको मत परिणामलाई विभिन्न तत्वहरूले प्रभावित तुल्याएको तथ्य विश्लेषकहरूले औँल्याएका छन् । तीमध्ये आफ्नो विचार फेरिरहने मतदाता (स्विङ भोटर) हरूको अभिमत चुनावी मत परिणामलाई प्रभावित पार्न सफल रह्यो ।

‘यस चुनावको रोचक तथ्य यो रह्यो कि यसमा स्विङ भोटरहरूको उपस्थिति उल्लेख्य रह्यो । खासमा भन्नुपर्दा, गोरा जातिका महिलाहरू (ह्वाइट वुमेन) को ठूलो सङ्ख्या यो चुनावमा स्विङ भोटरमा रूपमा रह्यो,’ प्राध्यापक कोनिङ भन्छिन् ।

न्युयोर्क युनिभर्सिटी राजनीति विभागका प्राध्यापक प्याट्रिक एगनका अनुसार डेमोक्रेटिक पार्टीले एक बृहत् सामाजिक सुरक्षा सञ्जाल (सोसल सेफ्टी नेट) हुनुपर्ने तथ्यलाई महत्व दियो भने रिपब्लिकन पार्टीले सामाजिक सुरक्षा सञ्जाललाई घटाउनुपर्ने र सरकारलाई छरितो बनाउनुपर्ने तथ्यमा जोड दियो ।

‘सोसल सेफ्टी नेटको मुद्दाले पनि चुनावी परिणामलाई प्रभावित गरेको पाइन्छ,’ प्राध्यापक एगन भन्छन् ।

यसैगरी, विवाहित र अविवाहित महिलाको हकमा प्राध्यापक एगनका अनुसार अविवाहित महिला डेमोक्रेटिक पार्टीको पक्षमा बढी देखिए भने विवाहित महिलाहरू रिपब्लिकन पार्टीको पक्षमा बढी देखिए ।

यसैगरी, फोर्डह्याम युनिभर्सिटीकी राजनीतिशास्त्रकी प्राध्यापक क्रिस्टिना ग्रियरका अनुसार होन्डुरस, ग्वाटेमालालगायतका देशहरूबाट मेक्सिको आइपुगेका र त्यहाँबाट संयुक्त राज्य अमेरिका छिर्न प्रयासरत हजारौँको सङ्ख्यामा रहेका कागजपत्रविहीन मानिसहरूको हुल (क्याराभान)ले पनि चुनावी नतिजालाई प्रभावित तुल्यायो ।

‘अमेरिकामा उल्लेख्य सङ्ख्यामा भइरहने ‘गोली हिंसा’ (गन् भायोलेन्स) ले पनि युवा मतदाताहरूको भोटलाई प्रभावित तुल्यायो,’ प्राध्यापक फोर्डह्याम थप्छिन् ।

यसैगरी, न्युयोर्क युनिभर्सिटी समाजशास्त्र विभागका प्राध्यापक जेफ मान्जाका अनुसार धेरैजसो युवाहरू डेमोक्रेटिक पार्टीमा लाग्ने ट्रेन्ड देखियो भने रिपब्लिकन पार्टीमा लाग्ने वा कायम रहनेमा पाका उमेरका मतदाताहरूको सङ्ख्या बढी देखियो ।

राष्ट्रपति ट्रम्पमाथि चुनावको प्रभाव :

अमेरिकी मध्यावधि चुनावले राष्ट्रपति ट्रम्पलाई फाइदा र बेफाइदा दुवै पुऱ्याएको देखिन्छ । माथिल्लो सदन (सिनेट) मा बहुमत कायम गर्न सक्नु उनको सफलता हो भने तल्लो सदन (हाउस) मा विपक्षी डेमोक्रेटिक पार्टीले बहुमत कायम गरेपछि उनलाई केही अप्ठ्यारो स्थितिको सिर्जना हुन सक्ने आकलन गरिएको छ ।

खासगरी राष्ट्रपति ट्रम्पको अमेरिका–मेक्सिको बोर्डरमा पर्खाल ठड्याउने योजनामा तल्लो सदन (हाउस) ले बजेट स्वीकृत नगरिदिएर तुषारापात गरिदिने आशङ्का गर्न थालिएको छ ।

‘डेमोक्रेटिक पार्टीले हालसालै निर्वाचनबाट नियन्त्रणमा लिएको हाउस (तल्लो सदन)ले सम्भवतः राष्ट्रपति ट्रम्पको सीमा पर्खालको निम्ति रकम स्वीकृत गर्ने छैन,’ मायामी हेराल्डको निम्ति ल्याटिन अमेरिकी संवाददाता आन्द्रेस ओपनहाइमरले ह्युस्टन क्रोनिकलमा प्रकाशित आफ्नो लेखमा भनेका छन् (नोभेम्बर १३, २०१८) ।

‘नयाँ हाउसले मध्य र दक्षिण अमेरिकी राष्ट्रहरूलाई विगतमा दिइँदै आएको वैदेशिक सहयोग पुनः खुलासमेत गर्न सक्छ, जुन अहिलेको प्रशासनले बृहत् रूपमा कटौती गर्न खोजिरहेको छ,’ ओपनहाइमर थप्छन् ।

राष्ट्रपति ट्रम्पले भने यदि सीमापर्खाल निर्माणको निम्ति हाउसले बजेट स्वीकृति नदिएमा आफूले अमेरिका–मेक्सिको बोर्डर पूर्ण रूपमै बन्द गरिदिने घोषणा गरेका छन् ।

‘जब तपाईं मेक्सिकोबाट अमेरिकातर्फ बढी रहेको मानिसको हुल (क्याराभान) लाई हेर्नुहुन्छ, अनि तपाईं सीमा बन्द (सट्डाउन) गर्ने यही नै सबैभन्दा उपयुक्त समय हो भन्ने तथ्यसमेत बुझ्नुहुनेछ,’ राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमा पत्रकारहरू समक्ष भनेका छन् (नोभेम्बर १७, २०१८) ।

‘यदि तल्लो सदनले पर्खाल निर्माण गर्न रकम नदिएमा यो निश्चित छ कि सरकारी स्तरमै सिमा बन्द गरिनेछ, ’ उनले भनेका छन् ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माणका साथै सीमा नाघेर आउने मानिसहरूलाई शरण नदिने नीतिको घोषणा गरेका छन् भने डेमोक्रेटिक पार्टीले सीमामा पर्खाल होइन, कडा नियमनको खाँचो छ भन्ने तथ्यमा जोड दिएको छ । यसैगरी, राष्ट्रपति ट्रम्प स्वास्थ्य विमामा भारी कटौती गरी ओबामा केयर नै खारेज गर्ने पक्षमा छन् भने डेमोक्रेटिक पार्टी ओबामा केयरलाई सुधार गर्दै लैजानुपर्ने पक्षमा छ ।

दुई प्रतिस्पर्धी दलका यिनै विरोधाभासका बीचमा जनताले आफ्नो अभिमत चुनावमार्फत व्यक्त गरेका छन्, जसमा उनीहरूले रिपब्लिकन र डेमोक्रेटिक दुवै दललाई मिलेर जाने जनादेश दिएका छन् । दुवै प्रतिस्पर्धी दल र राष्ट्रपति मिलेर गएमा खासै समस्या नहुने देखिन्छ, तर मिल्न नसकेको खण्डमा भने राजनीतिक अवरोधहरू बारम्बार आइरहने सम्भावना प्रबल देखिन्छ ।
Twitter: @manojrjl