काङ्ग्रेस महासमिति बैठकको सन्दर्भ

काङ्ग्रेस महासमिति बैठकको सन्दर्भ


– राजेश ढुंगाना

तीन–तीनवटा सफल क्रान्तिको नेतृत्व गरेको मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काङ्ग्रेसको महासमिति बैठक यसै महिनाको अन्तिम साता बस्दै छ । त्यसैले हाल प्रमुख प्रतिपक्षी रहेको दलको यो बैठकप्रति काङ्ग्रेसको मात्र होइन, सिङ्गै राष्ट्रको ध्यान केन्द्रित भएको छ ।

सो बैठक केवल औपचारिकतामा सीमित रहने हो कि इतिहासमा पहिलोपल्ट यत्रोविधि गिरेको काङ्ग्रेसको शाख फर्काउन महत्वपूर्ण कोसेढुङ्गा हुने हो ? अथवा काङ्ग्रेसभित्रका गुट–उपगुटको राजनीतिक कुस्तीमा अरू वृद्धि गरेर सम्पन्न हुने हो ?— महासमिति बैठक अगाडि यी प्रश्नहरू अत्यन्त सान्दर्भिक भएका छन् ।

लामो घात–अन्तर्घात र सत्ताकेन्द्रित मानसिकताका कारण गत निर्वाचनमा काङ्ग्रेसले नराम्रोसँग पराजय भोग्नुप¥यो । यद्यपि दुई ठूला दलको एकता चुनावी परिणामका हकमा काङ्ग्रेसका लागि प्रतिकूल भएको सत्यलाई नकार्न सकिन्न । तैपनि यो मात्रै काङ्ग्रेसको पराजयको कारण थिएन । महासमिति बैठकमा उपस्थित प्रत्येक सदस्यले यसमा इमानपूर्वक विचार गर्नुपर्नेछ । सिद्धान्तलाई पहिलो प्राथमिकता दिनुको सट्टा सत्ताप्रति अर्जुनदृष्टि राख्नु, नेतैपिच्छेका गुट–उपगुट बनाउनु र लामो समयदेखि दिशाहीन हुनुको अन्तिम परिणाम थियो– काङ्ग्रेसको निर्वाचन हार्ने मूल कारण । यो कुरा स्वयम् काङ्ग्रेसजनले नस्वीकारेसम्म काङ्ग्रेसको गिरेको शाख फिर्नेवाला पनि छैन ।

वर्तमान युग प्रजातन्त्रको युग हो । संसारभर प्रजातन्त्रको लहर चलेको छ । सन् १९८० यता संसारभरि कम्युनिस्ट सत्ता ढल्न थाल्ने क्रममा अहिले मुस्किलले दुई–तीन देश बाँकी छन् । भएकाले पनि आफूलाई सुधार गरेका छन् । नेपालमा मात्रै प्रजातान्त्रिक शक्ति कमजोर हुने अर्थोक कारण नै छैन । एक मात्र कारण हो– प्रजातान्त्रिक शक्तिले आफूलाई सक्षम पार्न नसक्नु । निर्वाचनमा कम्युनिस्टहरूले जितेका होइनन्, काङ्ग्रेसले हारेको हो । महासमिति बैठक अघि काङ्ग्रेसले यो सत्यलाई आत्मसात् गरेर एउटा निष्कर्ष निकाल्न सकेन भने काङ्ग्रेसको गिरेको शाख फर्कनुको साटो थप गिर्ने पक्का छ ।

काङ्ग्रेस कार्यकर्ता र नेताहरू कतिसम्म आत्मआलोचित हुन तयार छन्, त्यसैले काङ्ग्रेसको भविष्य निर्धारण गर्नेछ । महासमिति बैठक कार्यकर्ता भुलाउने केवल एउटा नाटक मञ्चन र औपचारिकतामा मात्र सीमित रह्यो भने त्यो अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ ।

विचार, सिद्धान्त र आदर्शयुक्त काङ्ग्रेसलाई आधा शताब्दीसम्म नेपाली जनताले साथ दिएकै हुन् । नेपाली जनताको यो महानतालाई बिर्सन पनि मिल्दैन र कम आँक्न पनि मिल्दैन । तर, जब काङ्ग्रेसले विचार, सिद्धान्त र आदर्शको लिक छाडेर सत्तालाई प्रमुख विषय बनायो, जनताले पनि यसको साथ छोडे । एक पटकको चुनाव हार्दैमा केही बिग्रनेवाला होइन– यदि सङ्गठनलाई सत्तामा अनुवाद नगरेर चुस्त दुरुस्त राख्तै सिद्धान्त, विचार र आदर्शलाई मुख्य कुरा बनाएर फेरि शाख पनि फर्कनेछ र सत्ता पनि फर्किनेछ ।

मूल कुरा– काङ्ग्रेस कार्यकर्ता र नेताहरू कतिसम्म आत्मआलोचित हुन तयार छन्, त्यसैले काङ्ग्रेसको भविष्य निर्धारण गर्नेछ । महासमिति बैठक कार्यकर्ता भुलाउने केवल एउटा नाटक मञ्चन र औपचारिकतामा मात्र सीमित रह्यो भने त्यो अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ ।

आमप्रजातन्त्रवादी बरु काङ्ग्रेसको गिरेको शाखप्रति चिन्तित छन्, तर यसको नेतृत्व अझै पनि यो विषयमा गम्भीर नभएर खेलाँचीका रूपमा लिइरहेको छ । के यसको नेतृत्व पार्टीको गुमेको शाख फर्काउनेभन्दा आजन्म आफ्नो पद जोगाउने ध्याउन्नमा त छैन ?– यस्ता प्रश्नहरू पनि उठेका छन् । यदि यसै हो भने काङ्ग्रेस इतिहासको प्रजापरिषद् बन्नेछ । महासमिति बैठकमा उपस्थित कार्यकर्ताले यसप्रति पनि गम्भीर हुन जरुरी छ ।

यहाँ किन ‘कार्यकर्ता’ भनेर जोड दिइएको हो भने, नेतृत्वबाट त्यसको आशा गर्ने सम्भावना नै छैन । काङ्ग्रेसको वर्तमान नेतृत्व असफल भइसकेको छ । उसमा अहिलेसम्म नदेखिएको त्यो आँट र भिजन महासमिति बैठकमा एकाएक अकस्मात् पलाउने विषय होइन । यो आरोप होइन, सत्य हो । र, सत्यको मुख तीतो हुन्छ । काङ्ग्रेस सुधारको एक मात्र विकल्प नेतृत्व हस्तान्तरण नै हो । नेतृत्व सक्षम भए नीति आफैँ असल बन्नेछ ।