‘चिकेन २१’लाई अष्ट्रेलियादेखि नेपालसम्म फैलाउँदै विनोद

‘चिकेन २१’लाई अष्ट्रेलियादेखि नेपालसम्म फैलाउँदै विनोद


राजन घिमिरे, अष्ट्रेलिया

यतिबेला सिड्नीमा ‘चिकेन २१’को स्वादको चर्चा छ । यो ब्राण्डको नाम सुन्नेवित्तिकै नेपालीहरु एउटा प्रवासी ठिटो विनोद शर्माको नाम सम्झिहाल्छन् भने यो ब्राण्ड विस्तारै विदेशीहरूको छनौटमा पनि पर्न थालेको छ । प्रवासमा बिताएको २० वर्षको अनुभवपछि विनोदले आफ्नै ब्राण्ड स्थापित गरेका हुन्- ‘चिकेन २१’ को नामले ।

विदेशमा श्रम गरेर टिक्नका लागि गरेको हरेक दुःखकष्टको अनुभव छ विनोदसँग । २० वर्षदेखि अष्ट्रेलियाको सिड्नी बस्दै आएका विनोद संर्घष र मिहेनतपछि सफल भइन्छ भन्ने गतिलो उदाहरण पनि हुन् । अहिले नेपालीको बाक्लो बस्ती रहेको सिड्नीको ओबन र ग्रानभिलमा कफी हाउससँगै ओबनमा ओज मार्ट पनि सञ्चालन गरिरहेका उनले २० जना नेपालीलाई रोजगारी पनि दिइरहेका छन् ।कफी हाउससँगै अन्य ब्यवसायलाई पनि अगाडि बढाउने योजनाका साथ अघिबढेका विनोद ‘चिकेन २१’ लाई नेपालमा लगेर विस्तार गर्न जोडतोडका साथ लागिपरेका छन् ।

सिड्नीमा रहेका चिकेन पारखीहरू माझ क्रमशः छाप छोडिरहेको ‘चिकेन २१’ अहिले ग्रानभिल र ओबनको कफी हाउसमा पाइन्छ भने यसको नाम चाहिं किन यो राखियो त ? जवाफमा उनी भन्छन्- ‘यसमा जडिबुटी सहितका २१ वटा मसलाहरू प्रयोग गरिन्छ र यसको विशेषता हो यो । हरेक मसलाका पारखीहरूका लागि तयार गरिन्छ । पिरो कम वा धेरै मन पराउने या जस्तोसुकै मसला मन पराउने किन नहुन्, हरेक स्वाद र जिब्रोको लागि चिकेनका अनेक परिकार तयार हुन्छ । हामीले दुई वर्षमा सिड्नीमा ‘चिकेन २१’बाट राम्रै प्रशंसा कमाएका छौँ ।’

विनोदका अनुसार चिकेनमा प्रयोग हुने सबै मसलाहरू उनी आफैले बनाएका हुन् । यी मसलाबाट चिकेन बर्गर, पपकर्न चिकेन, चिकेन नगेट्स र चिकेन विन्स लगायत चिकेनका अन्य परिकारहरूमा पनि यी मसलाहरू प्रयोग गरिन्छ ।

आफ्नो यो व्यवसायमा धर्मपत्नी पविता शर्माको साथ र सोचलाई पनि मूल्यवान मान्ने विनोद ‘चिकेन २१’ लाई नेपालमा पनि बिस्तार गर्ने तयारीमा जुटेका छन् ।’आफूले प्रवासमा सिकेको र जानेको सिपलाई जन्मभूमिमा लगेर नेपालीहरूको सहकार्यमा विस्तार गर्दै छु’- उनले भने । ‘चिकेन २१’संग कोही सहकार्य गर्न चाहन्छ भने बिना रोयल्टी सहयोग गर्न तयार देखिन्छन् उनी । अष्ट्रेलियामा चिकेन २१ को ब्यापार गर्न वा यसको फ्रेन्च आइ लिन चाहनेले आफूसँग सम्पर्क राख्न विनोदले आग्रह गरेका छन् । अष्ट्रेलियामा फ्रेन्च आइज लिन रोयल्टी तिर्नु नपर्ने तर मसला र प्याकिंग भने कम्पनीको प्रयोग गर्नुपर्ने उनको भनाई छ । ‘हामीलाई रोयल्टी चाहिँदैन, हाम्रो ब्राण्ड प्रयोग गरेवापत प्रयोगकर्ताले मसला र प्याकेजिंग भने हाम्रो प्रयोग गर्नुपर्छ । अरू केही चाहिदैन’, उनले स्पष्ट पारे । नेपालपछि विनोदले यो स्वादलाई भारत र चाइनामा पनि लग्ने योजना रहेको जानकारी दिए ।