‘मलाई राजा ज्ञानेन्द्रले यो गीत गाइदेउ बाबु भनेको हो र ?’

‘मलाई राजा ज्ञानेन्द्रले यो गीत गाइदेउ बाबु भनेको हो र ?’


– राजन घिमिरे, अष्ट्रेलिया

‘हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ
विश्वको कुना काप्चामा खोज त्यहाँ सिङ्गो नेपाल हुन्छ
त्यहाँ राजा–रानी हुन्छ …’

प्रवासी जीवनमा पनि समीर आचार्यले गीत–संगीत क्षेत्रलाई निरन्तरता दिई नै रहे । सन् २००८ मा अष्ट्रेलिया आएका उनी यहाँ नेपाली गीत–संगीतका विस्तारका निम्ति लागिपरेका छन् । यस बीचमा पछिल्लो पटक ‘दुनियाँ बेग्लै छ . छ’ र ‘पिच रोड…’ बोलको गीतले समिरको चर्चा र प्रशंसाको दायरा नै फराकिलो पार्यो । नेपाली गीत–संगीत क्षेत्रमा राम्रै उपस्थिति जनाएका समीरले गत शनिबार सिड्नीको डार्लिङ हार्बरमा आयोजित नेपाल फेस्टिबलमा गाएको उपरोक्त बोलको ऐतिहासिक गीतले भने यतिबेला उनलाई विवादमा तानेको छ ।

कुनै बेला सबैले गाएका–सुनेका उक्त गीत समीरले नेपाल फेस्टिवलमा जमेर जोडस्वरले गाइदिए । तर, आफूलाई ‘गणतन्त्रवादी’ भन्न रुचाउने एउटा तप्काले यसमाथि बखेडा झिकिदियो । समीर विवादमा तानिए ।

‘त्यहाँ राजा–रानी हुन्छ… ’ भन्ने शब्दमाथि आलोचकहरूले प्रश्न उठाउँदै ‘समीरले प्रवासमा गणतन्त्रको उपहास गर्दै राजतन्त्रको वकालत गर्यो’ भनेर उनको विरोध गरिएको छ । तर, समीरले आफू कुनै पार्टी वा व्यक्तिविशेषको कार्यकर्ता नभई नेपाल राष्ट्रको एक नेपाली भएको र प्रवासमा ऐतिहासिक नेपाली गित गाएको स्पष्टीकरण दिएका छन् ।

आफूलाई जबर्जस्ती विवादमा तान्न खोजिएपछि उनले आफ्नो सफाईमा थप के–के भने त ? जानौँ उनकै शब्दमा–

‘म सन् २००८ मा अष्ट्रेलिया आएको हुँ । मैले विशुद्ध रूपमा यो देशलाई कर्मभूमिको रूपमा लिएको छु र गीत–संगीत क्षेत्रलाई पनि प्यासनको रूपमा अंगीकार गर्दै अगाडि बढेको छु । तर यहाँ पनि केही यस्ता तत्वहरू छन् कि हावाको बखेडा निकालेर राजनीति गर्न खोज्छन् । मैले गाएको गीतको प्रस्तुति पनि त्यही राजनीतिको शिकार भएको हो । नेपाली गीत–संगीत क्षेत्रमा यस गीतको बेग्लै इतिहास छ ।’

‘कसैको गुणगान गाउन मैले अष्ट्रेलियामा यो गीत गाएको होइन । प्रवासमा मन–मनमा नेपाली भाव जगाउन यो ऐतिहासिक गीत गाएको थिएँ । त्यसकारणले पनि बीसौँ हजार नेपालीले मेरो गीतमा नेपाली झण्डा फहराउँदै मलाई साथ दिनुभएको थियो । के ती सबै राजाका कार्यकर्ता हुन् त ? कि कुनै पार्टीबाट सञ्चालित थिए ? यो नेपाली तीन पुस्ताले गाएको र सुनेको गीत हो । यस्तो ऐतिहासिक गीत गाउँदा त मेरो तारिफ हुनुपर्ने थियो, तर केही तत्वहरूले कोठामा बसेर विरोध गरे । मलाई विवादमा तान्न खोजे ।’

‘लोसार, छड, दशैँ, तिहार जस्तो चाड हामी सबै नेपालीको हो । कुनै एक जातीको पेवा होइन र गीत–संगीत पनि कसैको पेवा होइन । अझै यस्तो इतिहास बोकेको गीत त हाम्रो सम्पति हो । यो गीतमा इतिहास लुकेको छ । म अष्ट्रेलियामा बस्नुभएका वरिष्ठ ब्यक्तित्वहरूलाई आग्रह गर्दछु कि यहाँ राजनीति नगर्नुस्, राजनीति गर्ने भए नेपालमै जानुस् र गर्नुस् । प्रवासमा नेपालीहरूलाई जातीय कुरा उठाएर फुटाउने दुष्कर्म नगर्नुस् । अष्ट्रेलियाको पासपोर्ट लिएर नेपालको जातीय राजनीति नगर्नुस् । राजा अहिले नहोलान् तर हाम्रो इतिहास त हो नि ! नेपाल फेस्टिबलमा विदेशीहरूलाई नेपालको बारेमा जानकारी गराउने हो भने हामीहरूले राम्रा काम र इतिहास बोकेका हाम्रा धरोहरहरूका बारेमा पनि जानकारी दिनुपर्दथ्यो, त्यो राजा होस्, मन्त्री होस् या साधारण मान्छे नै किन नहोस् । त्यतातिर हाम्रो ध्यान गएन, तर कोठामा बसेर फेसबुकमा यसले यो गीत गायो, गणतन्त्रविरुद्ध बोल्यो, राजतन्त्रलाई समर्थन गर्यो भनेर विरोध गरियो ।’

‘तर यसले मलाई केही फरक पर्दैन । बरु आउनुस् अगाडि नै, अनि बहस गरौँ । लुकेर राजनीति नगर्नुस् । मलाई नेपालबाट राजा ज्ञानेन्द्र शाहले यो गीत गाइदेउ बाबु भनेर अनुरोध गरेका त होइनन्, स्वस्फुर्त रूपमा गाएको हुँ । तर, हावाको भरमा भ्रम फैलाउन खोज्नेहरूले मलाई दरबारबाट सञ्चालित भन्ने आरोप लगाउने चेष्टा गरे । म स्वतन्त्र गायक हुँ । कसैबाट सञ्चालित र कुनै पार्टीको मान्छे होइन, बरू मेरो विरोध गर्नेहरूचाहिँ सञ्चालित होलान् । नत्र किन एउटा स्वतन्त्र गायकको गायनमाथि औंला ठड्याउँथे ? हरेक गीत तथा ब्यक्ति वा संस्थाको इतिहास हुन्छ, सबैको इतिहासको सम्मान गरौँ, अरूको सम्मान गरे आफू पनि सम्मानित होइन्छ ।’