डा. पौडेलले ल्याए एकैपटक सात कृति

डा. पौडेलले ल्याए एकैपटक सात कृति


लेखक तथा समालोचक डा. हेमनाथ पौडेल एकैसाथ सात कृति लिएर आएका छन् । आरआर क्याम्पसमा प्राध्यापनरत ह्वाकु, तेह्रथुमका सुपरिचित स्रष्टा एवम् द्रष्टा पौडेलले समालोचना, निबन्ध, संस्मरण, समीक्षा र भूमिका लगायतका विधाका आफ्ना ७ पुस्तक एकैसाथ बजारमा ल्याएका हुन् ।

प्रगतिवादी कवितासम्बन्धमा विद्यावारिधि गरेका पौडेलका ‘प्रगतिवाद र कवितामान्यता’, ‘कविता समालोचना’, ‘नेपाली प्रगतिवादी कविताः इतिहास र प्रवृत्ति’, ‘समीक्षा र भूमिका’, ‘पारिभाषिक शब्द परिचय’, ‘चिन्तन र संस्मरण’ र ‘ताप्लेजुङतिर प्रचलित लोकगीतिनृत्य धाननाच’ गरी ७ पुस्तक एकैसाथ प्रकाशित भएका हुन् । पुस्तक पैरवी प्रकाशन, तन्नेरी प्रकानशन, विवेकसिर्जनशील प्रकाशन र नेपाल सङ्गीत तथा नाट्य गीत प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेका हुन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक कार्यकाल प्राज्ञ सभा सदस्य रहिसकेका उनका यसअघि ‘भाषा साहित्यका दुई हस्ती’, ‘कृष्णमणि साहित्य पुरस्कारद्वारा सम्मानित स्रष्टाहरू’, ‘प्रगतिवादी दृष्टमा कवि र कविता’, ‘सन्दर्भपरक समालोचना’ तथा ‘भाषाविज्ञान र नेपालका भाषाहरू’ शीर्षकका जीवनी तथा समालोचनाका पाँच कृति प्रकाशित भइसकेका छन् ।

उनले प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा निबन्ध संग्रह’ र ‘समकालीन कविता विमर्श’ तथा गोरखापत्र संस्थानबाट प्रकाशित ‘मधुपर्क प्रतिनिधि हास्यव्यंग्य निबन्ध संग्रह’ कृतिको सम्पादन तथा अन्य विभिन्न प्रकाशनद्वारा प्रकाशित ‘रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक’, ‘कृति र स्मृतिमा डा. बल्लभमणि दाहाल’, ‘जनकप्रसाद हुमागाईंः स्रष्टा एक द्रष्टा अनेक’, ‘स्मृतिका पानामा सूर्य कन्दङ्वा’, ‘स्मृतिमा रूद्र खरेल’, ‘देवीप्रसाद उप्रेतीका कविता’ र ‘देवीप्रसाद उप्रेतका निबन्ध’जस्ता गहन कृतिहरूको कुशलतापूर्वक सम्पादनसमेत गरिसकेका गरिसकेका उनका दुई दर्जन जति फुटकर अनुसन्धानात्मक समालोचनाहरू प्रकाशका क्रममा छन् ।

त्रिभुवन विश्वविद्यालयमा तीस वर्षको प्राध्यापन अनुभव सँगालेका पौडेलले त्रिविका साथै नेपाल सरकारका विभिन्न तहका पाठ्क्रमको निर्माण र पाठ्यपुस्तकको लेखन समेत गरेका छन् । हाल उनी त्रिवि अनिवार्य नेपाली विषय समितिको अध्यक्ष समेत रहेका छन् । प्रगतिवादी समालोचकको रुपमा स्थापित पौडेल नेपाल सरकार संस्कृति मन्त्रालयबाट प्रदान गरिने महाकवि देवकोटा पुरस्कार, पारिजात सिर्जनशील पुरस्कार आदि दर्जन बढी पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।