ओझेलमा परेका योद्धा स्व. अरविन्द ठाकुर

ओझेलमा परेका योद्धा स्व. अरविन्द ठाकुर


– डा. सुजितकुमार ठाकुर

प्रजातान्त्रिक आन्दोलनका होनहार योद्धा अरविन्द ठाकुरले देह त्याग गर्नुभएको आज पाँच वर्ष पुगिसकेको छ । तर, समाजमा ब्याप्त नकारात्मक सोचको अन्धकारमा पनि स्वर्गीय ठाकुरको विचार र जीवन–संघर्ष सानै टुकीको रूपमा भएपनि बलिरहेको छ । भनिन्छ कि शरीर मरेर जान्छ तर विचार मर्दैन र यस्ता विचारहरूलाई हामीले मर्न पनि दिनु हुँदैन ।

अरविन्द ठाकुरको जन्म धनुषा जिल्लाको लोहानमा २००६ साल फाल्गुणमा भएको थियो । आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मेका उहाँको बारेमा कसैले कल्पना पनि गरेका थिएनन् कि उहाँको जीवन संघर्ष र साहसको महान गाथा बन्नेछ । ईश्वरको बेग्लै योजना थियो अरविन्द ठाकुरलाई लिएर । उहाँका माता र पिता सीतादेवी र श्याम ठाकुर हुनुहुन्थ्यो । बाल्यकालदेखि धार्मिक संकारमा हुर्केका उहाँमाथि रामायण तथा महाभारत जस्ता ग्रन्थहरूको ठूलो प्रभाव थियो ।

गाउँको पढाई सकेर भारतको विहार राज्यको उमगाँऊ हाई स्कुलमा उहाँ कक्षा ९ मा भर्ना हुनुभयो । भारत ब्रिटिस शासकबाट मुक्त भएको धेरै भएको थिएन । उहाँको जीवनमा भारतका प्रजातान्त्रिक योद्धाहरूको ठूलो प्रभाव थियो, खासगरी भगत सिंहको । यता नेपालमा निरङ्कुश राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिवाचित सरकारका प्रमुख विश्वेरश्वर प्रसाद कोइरालालाई अपदस्त गरी सत्ता आफ्नो हातमा लिए । यसको विरोधमा नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्ति गरिरहेको थियो । रामनारायण मिश्रको उमगाउँस्थित घरमा नेपाली काङ्ग्रेसको कार्यालय थियो । कलिलो उमेरमै उहाँ नेपाली काङ्ग्रेसको पूर्णकालीन सदस्य हुनुहुन्थ्यो । राती–राती नेपाल पसेर सीमानामा अवस्थित प्रहरी चौकी, भन्सार कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने काम उहाँहरूको दिनचर्या नै भइसकेको थियो । उहाँको शिक्षा पनि आगाडी बढ्दै थियो, उहाँ ९ कक्षा उत्तीर्ण भएर १० कक्षामा प्रवेश गर्नुभयो ।

तर उहाँ सन्तुष्ट हुनुहुन्थेन किनकि उहाँको विचारमा यस्तो सानोतिनो कामले राजा महेन्द्रलाई खासै कुनै प्रभाव पर्नेवाला थिएन । सायद ईश्वरले उहाँको सामु कुनै ऐतिहासिक क्षणको सृजना गरिरहेको थियो तथा उहाँ आफू पनि त्यो क्षणको प्रतीक्षामा हुनुहुन्थ्यो ।

यस्तै क्रम चलिरहेको अवस्थामा २०१८ साल माघ ६ गते करिव ४ बजेतिर एक युवा नेता रामचन्द्र सिंहले भोली जयनगर जान्छौ भनी सोधे । उहाँले पनि हुन्छ भनिदिनुभएछ । माघ ७ गते विहान रामचन्द्र सिंहसँगै उहाँ पनि पैदल जयनगतर्फ लाग्नुभयो । साँझपख दुवैजना जयनगरको नेपाली काङ्ग्रेस कार्यालय पुगे र त्यसदिन रातीको खाना खाएर दुवै सुते । माघ ८ गते विहान करीव ८ बजे एउटा ठूलो जर्दाको टिनको डब्बा जसलाई तारको डण्डीले हातमा बोक्ने बनाइएको थियो, रामचन्द्र सिंहंले उहाँलाई दिँदैै खबरदार गरे कि विस्तारै लैजानु र विस्तारै भुइँमा राख्नु । उहाँले हुन्छ भन्नुभयो तर डब्बाभित्र भएको वस्तुको बारेमा जिज्ञासा पनि पोख्नुभएछ । उत्तर भने केही नआउँदा उहाँले कुनै विस्फोटक पदार्थ होला भन्ने लख काट्नुभएछ । उहाँ त्यो टिनको डब्बा लिएर साँझपख उमगाउँस्थित नेपाली काङ्ग्रेसको कार्यालयमा पुग्नुभयो ।

एयरपोर्टमा उहाँद्वारा राजा महेन्द्रमाथि प्रथम बम प्रहार गर्ने निधो भयो । उहाँको यो साहासिक कदमबाट उत्साहित भएर जानकी मन्दिरमा दोस्रो बम प्रहार गर्न दुर्गानन्द झा तयार भए ।

राती खाना खाइसकेपछि नेताहरू सँगै क्रान्तिकारी विद्यार्थीहरूको ठूलो बैठक बस्यो । त्यस बैठकमा नेताहरूले भोलीपल्ट राजा महेन्द्र ९ बजे जनकपुर आउन लागेको कुरा गरे । नेताहरूको योजना थियो महेन्द्र आउँदा एयरपोर्टमै उनमाथि बम प्रहार गर्ने यदि बचिहालेमा दोस्रो प्रहार जानकी मन्दिरमा गर्ने । यसका लागि को–को जाने भनेर नेताहरूले प्रश्न गरे तर कसैले पनि हुन्छ भनेनन् । कोही नबोलेको देखेर उहाँ यो ऐतिहासिक अवसरको लागि अग्रसर हुनुभयो । उहाँको मानसपटलमा शहिद भगत सिंहको त्यागको गाथा घुमिरहेको थियो ।

भोलिपल्ट एयरपोर्टमा उहाँद्वारा राजा महेन्द्रमाथि प्रथम बम प्रहार गर्ने निधो भयो । उहाँको यो साहासिक कदमबाट उत्साहित भएर जानकी मन्दिरमा दोस्रो बम प्रहार गर्न दुर्गानन्द झा तयार भए । बैठक समाप्त भएपछि अरु होस्टलमा सुत्न गए, उहाँचाहिँ त्यहीँ कार्यालयमै सुत्नुभयो । विहान ७ बजे उहाँ र दुर्गानन्द झालाई एकैपल्ट बम लिएर जान अह्राइयो । उहाँले सँगै जाँदा समातिने खतरा हुने भन्दै नेताहरूलाई खबरदारी गरेपछि दुवैजना बेग्लाबेग्लै जाने निधो भयो ।

उहाँ बम लिएर एयपोर्टको लागि प्रस्थान गर्नुभयो भने दुर्गानन्द झा जानकी मन्दिरको लागि । जाने क्रममा उहाँको मनमा विभिन्न योजना तरङ्गित हुन थाले । कसरी राजामाथि बम प्रहार गर्ने भनी सोच्दैजाँदा अन्तिममा उहाँले मानिसहरूको भिडमा उभिने र राजा आउने बित्तिकै बम प्रहार गर्नु नै उचित हुने निश्कर्ष निकाल्नुभयो । तर एयरपोर्ट पुगेपछि त्यहाँको परिस्थिति सोचेजस्तो थिएन । मानिसहरूको कसिकसाउ भिड थियो । बम लिएर एयरपोर्ट छिर्न सजिलो थिएन । जबर्जस्ती गर्दा जनतालाई नै क्षति हुने खतरा थियो ।

आफ्नो निशाना राजा मात्रै भएकोले उहाँले अर्को विकल्पको बारेमा सोच्न थाल्नुभयो । उहाँ ढाटवरिपरी नै चक्कर काटिरहनुभयो । त्यहाँबाट उहाँले राजाको नजिक पुग्ने अवस्था देख्नुभएन । अनि बाध्य भएर उहाँले भिडमै छिर्ने निधो गर्नुभयो । तर दुर्भाग्यवश त्यसबेलासम्म राजाको सुरक्षाकर्मीले उहाँलाई देखिसकेका थिए । सायद उहाँ पहिलेदेखि नै काङ्ग्रेसको कायकर्ता भएकोले होला । दुईजनाले भिडमै उहाँको पाखुरा समाते । उहाँले उम्किने प्रयत्न गरे पनि सम्भव भएन । उहाँलाई थुनुवा कोठामा लगेर काठको तुरुङ्गमा दुवै गोडा राखी ताल्चा लगाइयो ।

त्यो थानाको एसपी मानबहादुर थिए । उहाँ त्यसरी पक्राउ परेपछि त्यहाँ राजाको आगमन नै स्थगित गरियो । तर ३ः३० बजेतिर राजा एयरपोर्ट आइपुगे । उहाँ धेरै नै चिन्तित हुनुभयो । आफू पक्राउ परेर भन्दा पनि दोस्रो बम प्रहार हुने हो कि होइन भन्ने चिन्ता उहाँमा थियो । त्यत्तिकैमा उत्तरतर्फबाट एउटा विस्फोट भयो । त्यो आवाजले उहाँलाई गदगद तुल्यायो । उहाँलाई थाहा थियो कि योजना सफल भयो । यत्तिकैमा मानबहादुर एसपी आइपुगे र उहाँलाई विभिन्न प्रकारको याताना तथा कुटपिट गर्न थाले । एकैपल्ट ४–५ जना प्रहरीले डन्डा, राईफलको कुन्दा र लात्तीले हिर्काउन थाले तर उहाँले साथीहरूको नाउँ पोलेर गद्दार हुन चाहनुभएन, बरु मर्न तयार रहनुभयो । कुटाईबाट परिणाम ननिस्केको देखेर प्रहरीहरूले उहाँलाई परिकौली व्यारेक लगे जहाँ राजा बसेका थिए । विष्फोटबाट राजा बचेको जानकारी आफूलाई त्यहाँ पुर्याएपछि उहाँलाई हुन पुग्यो ।

उहाँलाई राजाको सामुन्ने उभ्याइयो र साँचो भनेको खन्डमा छोडीदिने प्रस्ताव राखियो । उहाँमा उमेरको कमी थियो तर राजनीतिक चेतनाको कमी थिएन । त्यसैले उहाँले मुख खोल्नुभएन । उहाँलाई जलेश्वरको जेलमा पठाइयो । केही दिनमै त्यहाँबाट हनुमानढोकाको खोरमा पु¥याइयो । ओढ्ने ओछ्याउने बिना काठमाडौको जाडोमा मर्नको लागि छोडियो । एकमुठी चिउरा र २ वटा काउलीका टुक्रा तरकारीको रुपमा विहान बेलुका खान दिइन्थ्यो । अँध्यारो ठूलो कोठामा ओढ्नेविना जाडोले कठ्याङग्रिएर एकैडल्लो परी रात बिताउनुपर्दथ्यो । जाडोले निदाउन नसकिने अवस्था थियो । विहान ८–९ बजेको घामको तापले कोठा अलि न्यानो हुना साथ उहाँ निदाउनुहुन्थ्यो । दिउँसो भोकै बस्ने र राति जाग्राम बस्ने उहाँको दिनचर्या हुन पुग्यो । यो पीडा देखेर एकजना हबलदार जबरबहादुर गुरुङको हृदय पग्लिएछ । जबरबहादुरले दिउँसो २ बजेतिर कहिलेकाहीँ आफूले खाने निहुँमा ठूलो मुला उहाँसम्म ल्याइदिन्थ्यो । आफूलाई जति पीर र दुःख परेपनि निरङ्कुशताबाट नेपाल र नेपाली जनताको मुक्तिको लागि मूल्य चुकाइरहेको भन्दै सन्तोष मान्नुहुन्थ्यो ।

पौष्टिक र प्रोटिनयुक्त खानाको अभाव पूरा गर्न उनीहरूले मुसा मारेर पोल्दै खान थाले । यो जुक्त्ति दुर्गानन्द झाको थियो । त्यस्तै दलसिंह थापाले गोलघरभित्रको चिप्ले किरा खान सुझाए र उनीहरूले उस्तै गरे ।

यसबीच भारतको दार्जिलिङबाट दलसिंह थापा एवम् पर्सा जिल्लाबाट दुःखा सहनी दुवैजनालाई वीरगञ्जमा राजालाई मार्न आएको भनी झुटो आरोप लगाई हनुमानढोका खोरमा ल्याइयो । त्यसको ५–६ महिनापछि दुर्गानन्द झालाई पनि पक्राउ गरी हनुमानढोका खोरमा उनीसँगै राखियो । २०१९ साल भाद्र २१ गते सर्वोच्चको विशेष अदालतले अरविन्द ठाकुर, दुर्गान्नद झा र दलसिंह थापालाई मृत्युदण्डको सजाय सुनायो तथा दुःखा सहनीलाई आजन्म कारावासको सजाय सुनाइयो । चारै जनालाई त्यहीदिन सेन्ट्रल जेलभित्रको कालो कोठामा लगियो । दुःखा सहनी वाहेक तीनैजनालाई गर्दनमा फलामे साङ्लो हातमा फलामे हत्कडी र खुट्टामा फलामे नेल जडिएको एउटै फलामे साङलोले बाँधिएको अवस्थामा यातनागृहको सेलमा चौबिसै घण्टा ताल्चा लगाई राखिन थालियो ।

विहान ८ वजे दिशा–पिसावको लागि र खानाको लागि विहान–वेलुका कोठाको ताल्चा खोल्ने गरिन्थ्यो । यही दुःखावस्थामा करीव १८ महिना राखियो, न त मृत्युदण्ड दिइयो न फलामे साङ्लो नै झिकियो । उनीहरू विद्रोही भए । भोक हडताल गरे तर प्रशासनले पीडा बुझ्नुको साटो उल्टै चारैजनालाई कोर्रा लगायो । करिव साढे दुई वर्षको निरन्तर यातनाले चारैजना बिरामी परे । पौष्टिक र प्रोटिनयुक्त खानाको अभाव पूरा गर्न उनीहरूले मुसा मारेर पोल्दै खान थाले । यो जुक्त्ति दुर्गानन्द झाको थियो । त्यस्तै दलसिंह थापाले गोलघरभित्रको चिप्ले किरा खान सुझाए र उनीहरूले उस्तै गरे । उनीहरू वाध्य भई स्वतन्त्रताकोे लागि हाँसी–हाँसी कुनै पनि मुल्य चुकाउन तयार थिए ।

२०२० साल माघ १५ गते मध्यरातमा साथीहरूबाट छुटाई दुर्गानन्द झालाई क्रुर र अमानवीय तरिकाले झुन्डाएर गोली हानी हत्या गरियो । त्यसपछि २०३४ सालमा अरविन्द ठाकुरलाई जेलमुक्त्त गरियो । जेल मुक्त भएपछिकोे ६ वर्षपछि उहाँ बैवाहिक बन्धनमा समेत बाँधिनु भयो । उहाँकी श्रीमती मञ्जु ठाकुर तथा २ छोरा र १ छोरी छन् । छोरी रश्मी ठाकुर यतिबेला नेपाली कांग्रेसको समानुपातिक सांसद छिन् । अरविन्द ठाकुरलाई २०४६ सालमा ठूलो आमसभासमक्ष गणेशमान सिहंले जिउदो शहिदको उपाधिले सम्मान गर्नुभयो । उहाँले जनकपुर चुरोट कारखाना तथा शाही औषधी लिमिटेडको प्रमुखको पद पनि सम्हाल्नु भयो । २०५४ सालमा उहाँ राष्ट्रियसभा सदस्य हुनुभयो । दरबार हत्याकाण्डको सत्यतथ्य जनताको सामु नल्याएको भनि आफ्नै प्रधानमन्त्रीको विरोध गर्नेमा उहाँ पनि हुनुहुन्थ्यो । उहाँले चाहेको प्रजातन्त्र र जनताको अधिकार एवम् जनताको इच्छाको कदर नभएकोले उहाँ ज्यादै चिन्तित हुनुहुन्थ्यो । माओवादीलाई मुलधारमा ल्याउन पनि उहाँले भूमिका खेल्नुभएको थियो । उहाँको निधन २०७० साल मंसिर १० गते भएको थियो । निधन हुनुभन्दा पहिले उहाँलाई प्रथम बीपी पुरस्कारबाट सम्मानित गरियो ।

यतिबेला उहाँको स्मृति गर्दैगर्दा जनता र देशको हित हुने साँचो अर्थको लोकतन्त्र चाहनेहरू उहाँको आदर्शमा हिँड्न सक्यौँ भने उहाँको लागि सर्वश्रेष्ठ श्रद्धाञ्जली ठहरिने छ ।