समयको पालो

समयको पालो


– रामेश्वर राउत मातृदास

आउँछ निश्चित न्यायपूर्ण समयको पालो
माफियाको योजना यी रातभन्दा कालो
नहौं कोही नेपाली हो अन्यायीको टालो
च्यात्नैपर्छ आज सारा तस्करको जालो

ज्यूँदो लाशभै बस्यौं भने न्यूरी हुतिहारा
फैलने छन् नत्र सारा किच्चक देशमारा
अजम्बरी उन्नत वाणी हुन्न फोस्रो नारा
हाम्रो भाग्य भविष्यका हामी नै हौं तारा

धरती आकाश चन्द्र सूर्य जीवनज्योति चम्की
लौन वीर नेपाली हो हिँड्न बेर भो लम्की
भ्रष्टाचारी तस्करका विषाक्त छन् भाला
छोपी मार्छन् रोइ बसे निर्दोष लालाबाला

अहो ! हाम्रो अमरपुरमा दानव दाह्रा धस्ने
तिन्कै पाउमा कुलाङ्गारले तेल लगाईघस्ने
सत्य धर्म न्याय विवेक जगाएर खूल
नदेऊ भोले भष्मासुरलाई कालजयी त्रिशूल !

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती